शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

अधुरो तमोर लिफ्ट खानेपानी उद्घाटन गरेसँगै प्रधानमन्त्री ओली विवादमा

दैनिक नेपाल २०७६ फागुन ११ गते २१:०८

पाँचथर, ११ फागुन । अधुरो तमोर लिफ्ट खानेपानी आयोजना उद्घाटन गरेसँगै प्रधानमन्त्री केपी ओली विवादमा तानिएका छन् ।

यासोक पुगेर पाँचथरको कुम्मायक गाउँपालिकामा निर्माणाधिन तमोर अपलिफ्ट खानेपानी आयोजना प्रधानमन्त्रीले आइतबार उद्घाटन गरे । उक्त आयोजना अन्तर्गत हालसम्म २० प्रतिशत जनताको घरमा मात्र खानेपानी लाइन जडान गरिएको छ ।

कामै नसकी उद्घाटन गराएर प्रधानमन्त्रीलाई विवादमा तानेको भन्दै स्थानीय बासिन्दाले आयोजकहरूको तीव्र आलोचना गरेका छन् ।

प्रधानमन्त्रीलाई गुमराहमा राखेर उद्घाटन सम्पन्न गरेको भन्दै नेकपाका कार्यकर्ताहरूले समेत कुम्मायक गाउँपालिका समिति र तमोर लिफ्ट खानेपानी उपभोक्ता समितिको आलोचना गरेका छन् ।

‘प्रधानमन्त्री हाम्रो घर आँगनमा आउनु स्वागतयोग्य कुरा हो । तर, काम पूरा नगरी, उपभोक्ताले पानी खान नपाई उद्घाटन गर्नु वा गराउनु भनेको जनता झुक्याउनु हो । यो सत्ता र शक्तिको दम्भ, भ्रष्टाचारको अर्को नमूना हो । यसकारण आयोजकहरूले नै प्रधानमन्त्रीलाई झुक्याए, फसाए भन्ने जनतालाई लागेको छ,’ कुम्मायक निवासी राजु सम्बाहाम्फे भन्छन् ।

उद्घाटनपछि बाँकी काम पूरा हुन झन् ढिलाई हुने कुराले उपभोक्ताहरूलाई चिन्तित तुल्याएको छ ।

प्रधानमन्त्रीकै हातबाट उद्घाटन गराइसक्दा पनि आयोजना पूरा हुने तिथि मिति तमोर लिफ्ट उपभोक्ता समितिका अध्यक्ष डम्बरसिंह सम्बाहम्फेले यकिन गर्न सकेका छैन ।

स्वागतमा २५ लाख खर्च
देशकै नमुना र ठूलो आयोजनाको रुपमा चिनिएको खानेपानी आयोजना उद्घाटन गर्न प्रधानमन्त्रीका साथमा जम्बो टोली यासोक पुगेको थियो ।

नेकपा नेता सुवासचन्द्र नेम्बाङ, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, खानेपानी मन्त्री बिना मगर, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्बाङ, १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई लगायतको उपस्थिति थियो ।

मूल आयोजक मध्येका गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङ भने कार्यक्रममा अनुपस्थित थिए । सामान्य शिष्टाचार पनि चेम्जोङले पूरा गरेनन् ।

प्रधानमन्त्री ओलीको स्वागतमा तामझामका साथ तयारी गरिएको थियो । नेकपाका कार्यकर्तालाई खानपिन, आतेजातेको व्यवस्था गरिएको थियो ।

सुत्रको अनुसार, सम्पूर्ण खर्च कुम्मायक गाउँपालिकाले व्यवस्था गरेको थियो । यसकारण करदाताको नाममा प्राप्त रकम फजुल खर्च गरेको भनेर गाउँपालिका नेतृत्वको आलोचना भएको छ ।

उद्घाटनपछि छोटो मन्तव्य राखेर प्रधानमन्त्री ओली तेह्रथुमतर्फ लागेका थिए ।

प्रतिक्रिया
सम्बन्धित