मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

न्हुज पुस्तकालयको आयोजनामा राष्ट्रिय कविता महोत्सव सम्पन्न

दैनिक नेपाल २०७६ फागुन ११ गते १९:५४


काठमाडौँ, ११ फागुन । देशव्यापी राष्ट्रिय कविता महोत्सव सम्पन्न भएको छ । न्हुज पुस्तकालय टोखाको आयोजनामा ‘बन्दैछ मेरो देश सहभागीता मेरो पनि’ भन्ने मूल नाराका साथ काठमाडौँको राष्ट्रिय सभागृहमा कविता महोत्सव भएको हो ।

देशका युवा कविहरुले आफ्ना कविताहरु प्रस्तुत गरेका कविता महोत्सवका प्रमुख आतिथि उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल रहेका थिए ।

कार्यक्रममा कविहरूले राष्ट्र र राष्ट्रिय एकताको बारेमा कविता वाचन गरेका थिए भने समारोहमा विभिन्न किसिमका सांस्कृतिक नृत्यहरु पनि प्रस्तुत गरिएको थियो ।

टोखा नगरपालिकाको न्हुज खलः ले आयोजना गरेको राष्ट्रिय युवा कविता प्रतियोगितामा अर्घाखाँचीका किशोर आचार्य प्रथम भएका छन । आचार्यको ‘देश बाहिरबाट देश’ शीर्षकको कविताले प्रथम स्थान हासिल गरेको हो ।

प्रतियोगितामा झापाका केशव भट्टराई द्वितीय र उदयपुरका जीवन आरोही तृतीय हुनाका साथै पोखराका प्रकाश आचार्य, रौतहटका मनोजकुमार विश्वकर्मा र काठमाडौँ बत्तीसपुतलीका सुनिता भेटवालले सान्त्वना स्थान हासिल गरे ।

प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार रुपैयाँ, द्वितीयलाई ३० हजार रुपैयाँ, तृतीयलाई २० हजार रुपैयाँ र सान्त्वना पाउनेलाई १० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरियो ।

प्रतियोगितामा एक सय प्रतिस्पर्धीले भाग लिएका थिए । तीमध्येबाट प्रथम चरणमा ५०, द्वितीय चरणमा २५, तृतीय चरणमा १५ गर्दै चौथो चरणमा १५ जनाबाट उत्कृष्ट छ छनोट गरिएको थियो ।

कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलले कविले कवितामार्फत राष्ट्रभक्ति भावना जागृत गरेको बताउँदै साहित्यकारका सिर्जनाले जागरण र रुपान्तरणमा मद्दत मिल्ने गरेको विचार व्यक्त गरे ।

“प्राकृतिक स्रोत र साधनको उपयोग गर्दै युवाहरु उत्पादन मूलक कार्यमा जोडिनुपर्छ”, उनले भने, “युवाले अब विदेशमोह त्याग्दै राष्ट्र निर्माणमा सरकारलाई सहयोग गर्ने बेला आएको छ । ”

महोत्सवमा ५० हजार रुपैयाँ र सम्मानपत्रका साथ न्हुज प्रगतिशील साहित्य पुरस्कार पूर्ण वैद्यलाई प्रदान गरियो ।

कार्यक्रममा प्रतिष्ठित साहित्यकार गीतकार, प्रज्ञा प्रतिष्ठान प्राज्ञ, राष्ट्रिय समाचार समितिका अध्यक्ष, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, उप प्रमुख ज्ञानमाया डंगोल लगायतका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित