१ कार्तिक २०८३, आइतबार

प्रहरीले नागरिकले खोजेजस्तो उत्कृष्ट सेवा प्रवाह गर्नुपर्छ : महानिरीक्षक ज्ञवाली

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, ११ फागुन । प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले राज्य र प्रहरी संगठनले सोचेजस्तो एवं आमनागरिकले खोजेजस्तो उत्कृष्ट प्रहरी सेवा प्रवाह गर्नु प्रहरी कर्मचारीको दायित्व रहेको बताएका छन् ।

बारा, पर्सा र रौतहट जिल्ला तथा मातहत कार्यालयहरुमा कार्यरत प्रहरी कर्मचारीहरुलाई २ नम्बर ट्राफिक प्रहरी कार्यालय बारामा आइतबार आयोजित कार्यक्रममा निर्देशन दिंदै प्रहरी महानिरीक्षक ज्ञवालीले उक्त कुरा बताएका हुन् ।

प्रहरी समाजको अभिन्न अंग भएकोले आमनागरिकलाई व्यावसायिक एवं सहज रुपमा सेवा प्रदान गर्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले भने, ‘उत्कृष्ट सेवाको प्रतिफल स्वरुप नागरिकबाट प्राप्त स्याबासी नै हाम्रो उर्जा हो । त्यसैले नागरिक सेवालाई केन्द्रमा राखी थप उत्कृष्ट सेवा दिनेतर्फ सबै प्रहरी कर्मचारीहरु केन्द्रित र दृढ रहनुपर्छ ।’

समुदाय-प्रहरी साझेदारी कार्यक्रम लिएर जाँदा नागरिकले खोजेजस्तो सेवा प्रदान गर्न सकिने उल्लेख गर्दै उनले प्रहरीलाई नागरिक समाजको नजिक जान कार्यक्रमले थप प्रेरित गर्ने र यसले आफ्नै व्यावसायिकता समेत अभिवृद्धि गर्नेछ भने ।

अपराध अनुसन्धानलाई निष्कर्षमा पुर्याउन धैर्यता, लगनशीलता र उच्च व्यावसायिकताले मात्र सम्भव हुने चर्चा गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले लैंगिक तथा घरेलु हिंसा लगायतका घटना न्यूनीकरणका लागि सामुहिक रुपमा ऐक्यवद्ध भई काम गर्नुपर्ने चर्चा गरे ।

राजश्व संकलन कार्यान्वयनको पक्ष सवल होस् भन्ने अभिप्रायले सबै सरोकारवाला निकाय र समाजका सबै समूहसँग समन्वय र सहकार्य गरी काम गर्नुपर्नेमा जोड दिँदै उनले सडक दुर्घटना र अवरोधको बेला कुनै सम्झौता नगरी तत्काल समस्या समाधान हुने गरी काम गर्नुपर्ने बताए ।

प्रहरी कर्मचारीहरु उच्च आचरण र व्यवहारको नमूना बनुन् भन्ने आफ्नो उत्कट चाहना रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले कुनै स्वार्थ वा प्रलोभनमा परी काम कारवाही गरेमा वा कुनै गैरव्यावसायिक क्रियाकलापमा प्रहरी कर्मचारीहरु संलग्न भएको पाइएमा त्यसको नैतिक दायित्व सम्बन्धित कमाण्डरमा समेत हुने भएकोले त्यस्ता कार्य कुनै हालतमा क्षम्य नहुने बताए ।

यस्ता संगठनविरुद्ध लाग्ने जो कोही सजायको भागीदार हुनुपर्ने तर असल नियतले सबैको हितका लागि संगठनको नीति अनुरुप गरेका कुराहरुको संरक्षण संगठनले गर्ने उनले प्रष्ट पारे ।