शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

छिमेकीहरुसँग सन्तुलित नीति नै समृद्धिकाे आधार हाे : प्रधानमन्त्री ओली

दैनिक नेपाल २०७६ फागुन १० गते १९:०६

काठामडौँ, १० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको समृद्धिका लागि सन्तुलित छिमेक नीति अपनाउनु पर्ने बताएका छन् । उनले समृद्धिका लागि सन्तुलित, प्रभावकारी र उचित छिमेक सम्बन्ध र वैदेशिक सम्बन्ध विकास गर्न आवश्यक रहेको उनले बताए ।

दुवै छिमेकी देशहरुका राजनीतिक, आर्थिक र सामाजिक प्रवृतिमा भिन्न भए पनि सम्बन्धमा सन्तुलन राख्न सकिने प्रधानमन्त्री ओलीले उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले अस्वस्थ प्रतिस्पर्धालाई हटाएर अगाडी बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको समेत बताएका छन् । अरुलाई आफूभन्दा निच देखाएर ठूलो हुन नकिने बताउँदै उनले भने, अर्काको कापी च्यातेर आफू अगाडी हुने होइन । यसको भन्दा राम्रो लेखेर बढी नम्बर ल्याउने विद्यार्थीले उन्नति गर्छ । अरुको बिगारेर आफू सप्रिने होइन । अरुलाई पनि सप्रिन मद्दत गर्ने र आफू पनि सप्रिने बाटो हामीले लिनुपर्छ ।’ देशमा विकासका सबल सम्भावनाहरु रहेको उल्लेख गर्दै उनले जस्तोसुकै संकट आए पनि नडगमगाउने अर्थतन्त्र निर्माण गर्न सकिने बताए ।

प्रधानमन्त्री ओलीले अहिलेको सरकारले एकदिनमा लगभग ६ किलोमिटर बाटो कालोपत्रे गरिरहेको बताएका छन् । दुई वर्षमा साढे तीन सय पुल निर्माण भएको, उर्जा उत्पादनमा असाधारण तीव्रताका साथ वृद्धि भएको र बचतमा पनि वृद्धि भएको उनले बताए ।

शनिबार आफ्नो ‘भिजन टु एक्सन’ पुस्तक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले जनता सार्वभौम हुने र जनता नै निर्णायक भएको लोकतान्त्रिक प्रणाली देशमा कायम रहेको बताए । जनताभन्दा माथि कोही नहुने उल्लेख गर्दै ओलीले सार्वभौम भएपछि ढंग पुर्याउन सकिएन भने केही गर्न नसकिने बताए ।

प्रतिक्रिया
सम्बन्धित