४ कार्तिक २०८३, बुधबार

फेरि फर्किएन ‘चीलगाडी’

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, १० फागुन । कालिकोटको कोटबाडामा तीन वर्षअघि चीलगाडी (जहाज) बस्यो। हर्षित स्थानीयबासीले अबिरजात्रा गरे। तर, त्यो खुसी त्यहीं सकियो। त्यो जहाज फर्किएर अझै आएन।

३१ वर्ष लगाएर बनाइएको विमानस्थलमा २०७३ माघ २९ गते परीक्षण उडान गरिएको थियो। तत्कालै नियमित उडान गर्ने घोषणा भयो। तर त्यसयता कोटबाडामा एकपटक पनि जहाज अवतरण भएको छैन।

विमानस्थल सदरमुकाम मान्मदेखि एक दिन पैदल दुरीमा छ। सडकको पहुँच नपुगेको कोटबाडा आसपासका बासिन्दा हिँड्न बाध्य छन्। विमानस्थल निर्माणमा २६ करोड रकम खर्च भइसके पनि घेराबार, धावनमार्गमा कालोपत्रे, टावर निर्माण र टर्मिनल भवन बन्न बाँकी छ।

‘घरनजिकै चीलगाडी आयो, गाउँका सबैजना हेर्न गयौं’, ६५ वर्षीया सुकिल्ली कठायतले सम्झिइन्, ‘हाम्रा दिन त भारी बोकेरै गए, छोरानातिले जहाज चढ्न पाउने भए भन्दै अबरिजात्रा गर्‍यौं। तर चीलगाडी फर्केनन्।’ अर्का स्थानीय ६७ वर्षीय कृष्ण विष्ट भन्छन्, ‘गाउँमा न सडक छ, न त विमानस्थल। परीक्षण उडानपछि जहाज फर्केनन्, हाम्रा दिन हिँडेरै बित्ने भए।’

विमानस्थल निर्माण २०४२ सालमा सुरु भएको थियो। धावनमार्गको कालोपत्रे गर्न श्याम एन्ड शंकर जेभीले ठेक्का लिएको दुई वर्ष बिते पनि काम सुरु भएको छैन। विमानस्थल निर्माण आयोजनाका सुपरभाइजर गणेशकुमार विष्टले आवश्यक मेसिन लिने बाटो र यातायात सेवा नहुँदा काममा ढिलाइ भइरहेको बताए।

नियमित उडान भएमा पर्यटकीय स्थल रामारोशन, बाजुरा, त्रिवेणीपाटन र बडिमालिकाको पर्यटन प्रर्वद्धन हुने नरहरिनाथ गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टले बताए।

विमानस्थल निर्माण आयोजनाका प्रमुख रत्नबहादुर श्रेष्ठले आउँदो दसैंसम्ममा बाँकी काम सक्ने बताए। उनले भने, ‘बाँकी कामको ठेक्का भइसकेको छ। आउँदो दसैंसम्म कोटबाडामा जहाज अवरतण हुन्छ।’ अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।