शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

निर्देशक पाण्डेको नयाँ डकुमेन्ट्री पनि उत्कृष्ट

दैनिक नेपाल २०७६ फागुन ६ गते १२:०९

काठमाडौं, ६ फागुन । नेपालको लोपोन्मुख बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’ (को–हजबेन्ड) नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा उत्कृष्ट भएको छ ।

गणेश पाण्डेद्वारा निर्देशित ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले निफमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट वृत्तचित्र अवार्डसहित १ हजार अमेरिकी डलर जितेको हो । राष्ट्रिय सभागृहमा ५ दिनसम्म चलेको महोत्सवमा ४० वटा देशका ८० वटा फिल्म प्रतिस्पर्धामा थिए ।

वृत्तचित्र तथा लघु चलचित्र विधाकी निर्णायक मण्डल प्रमुख श्रीलंकन चलचित्रकर्मी अनोमा राजाकरुनाले निर्देशक पाण्डेलाई पुरस्कार तथा ट्रफी हस्तान्तरण गरिन् । निर्णायक मण्डलका सदस्य एवं स्वीजरल्याण्डको विश्वप्रसिद्ध लोकार्ने चलचित्र महोत्सवका ‘ओपन डोर’ संयोजकका थिबाउट बाराकले ‘सहायक श्रीमान’ ले नेपालमा लामो समयदेखि विद्यमान बहुपति प्रथालाई कलात्मक रुपमा पर्दामा उतार्न सफल भएको बताए ।

बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायाँकन गरिएको हो । घरमा जति दाजुभाई छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतारेका हुन् । हुम्लाको लामा समुदायमा अहिले पनि दाजुभाईका लागि एउटै श्रीमती बिहे गर्ने चलन छ । उनीहरु माया र काम मात्रै बाँडदैनन्, श्रीमती पनि एक आपसमा बाँड्छन् । जुन अहिलेको पुस्ताका लागि अत्यन्तै अनौठो हो । एउटै श्रीमतीसँग रमाइरहेका र विद्रोह गरेका तीन वटा परिवारको कथालाई डकुमेन्ट्रीले उठाएको छ ।

‘भाग्यले बाँचेकाहरु’ नामक डकुमेन्ट्री फिल्मबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चा कमाएका निर्देशक पाण्डेले करिब ४ बर्षको छायांकन र रिसर्चबाट सहायक श्रीमान निर्माण गरेका हुन् । यो वृत्तचित्रको लेखन पनि निर्देशन पाण्डेले नै गरेका हुन् ।

साइन मिडिया प्रालिका लागि शारदा गैरेले निर्माण गरेको डकुमेन्ट्रीको प्रमुख सहायक निर्देशक एवं दृश्य सम्पादक ईश्वर कोइराला र सहायक निर्देशक नृपराज हमाल छन् । यसैगरी, ईश्वर कोइराला, चन्द्रमान डंगोल, अविनाश लामा र राधेश्याम तिमिल्सिनाले यो डकुमेन्ट्रीलाई क्यामरामा कैद गरेका हुन् । संगीत संयोजन संगीतकार जुगल डंगोलले गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित