लण्डन, ४ फागुन । साउदी अरेबियाको नेतृत्वको रहेको गठबन्धन सेनाको युद्ध विमान यमनमा दुर्घटनाग्रस्त भएको छ । यमनको उत्तरी प्रान्त अल–जावफ क्षेत्रमा साउदी युद्ध विमान दुर्घटनामा परेको हो ।
यमनी आर्मीका लागि सहयोग सामग्री लिएर उडेको साउदी टोर्नाडो फाइटर जेट खसेको गठबन्धन सेनाका प्रवक्ताले बताएका छन् । साउदी अरेबियाको सरकारी समाचार संस्था एसपिएले पनि युद्ध विमान खसेको पुष्टि गरेको छ ।
यमनमा संघर्ष गरिहेको हुथी बिद्रोहीले आफूले आक्रमण गरी साउदी विमान खसालेको बताएको छ । साउदी अरेबिया नेतृत्वको गठबन्धन सेनाले सन् २०१५ देखि यमनमा हुथी बिद्रोहीविरुद्ध कारवाही अभियान सञ्चालन गर्दै आएको छ ।
शुक्रबार राति आफूहरुले साउदी अरेबियाको विमान खसालेको हुथीले दाबी गरेका छन् । त्यसको जवाफमा साउदी अरेबियाले अल–जावफ क्षेत्रमा हवाई आक्रमण गरेको छ ।
साउदी अरेबियाको हवाई आक्रमणमा ३१ जना सर्वसाधारणको ज्यान गएको संयुक्त राष्ट्रसंघले जनाएको छ । साउदी अरेबियाले शनिबार गरेको हवाई आक्रमणमा कम्तिमा १२ जना घाइते भएको पनि संयुक्त राष्ट्रसंघले जनाएको छ ।
साउदी अरेबियाले शुक्रबार राति हुथीले खसालेको दाबी गरेको विमानमा को थिए र त्यसबाट कति क्षति भयो भन्ने केही खुलाएको छैन ।















प्रतिक्रिया