शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

काभ्रे ‘साक्षर’ जिल्ला

दैनिक नेपाल २०७६ फागुन ३ गते ९:३७

काभ्रे, ३ फागुन ।   काभ्रेपलाञ्चोक ‘साक्षर’ जिल्ला घोषणा हुने भएको छ। जिल्लाका सबै स्थानीय तह साक्षर घोषणा भइसकेपछि साक्षरता अभियान जिल्ला समन्वय समितिले यही फागुन ७ गते साक्षर जिल्ला घोषणा गर्ने तयारी गरेको छ।

समितिका संयोजक उद्धव केसीले फागुन ७ गते भव्यरुपमा ‘साक्षर जिल्ला’ घोषणाको तयारी तीव्ररुपमा भइरहेको बताए।

समितिका अनुसार जिल्लाका १५ देखि ६० वर्ष उमेर समूहका ९६ दशमलब ४८ प्रतिशत जनसङ्ख्या साक्षर भएका हुन्। जसमध्ये एक लाख ९६ हजार १७४ पुरुष र एक लाख ७७ हजार ५५४ महिला साक्षर भएका हुन्। २०६८ सालको जनगणनाअनुसार जिल्लामा तीन लाख ७३ हजार ७२८ जनसङ्ख्या रहेको छ।

जनगणनाअनुसार तत्कालीन अवस्थामा दुई लाख ९२ हजार १७९ जनसङ्ख्या साक्षर भएकामा तत्पश्चात्का वर्षमा निरक्षर जनसङ्ख्याका लागि सञ्चालन भएको सघन साक्षरता कार्यक्रमबाट आव २०७६/७७ सम्म तीन लाख ६० हजार ५६० जनसङ्ख्या साक्षर भएको संयोजक केसीले जानकारी दिए।

उहाँका अनुसार जिल्लाका १३ वटै स्थानीय तहले बाँकी रहेका तथा अभियानका क्रममा साक्षर हुन छुट निरक्षर जनसङ्ख्यालाई आगामी दिनमा साक्षर गराउने प्रतिबद्धतासहित साक्षर नगर÷गाउँ पालिका घोषणा गरेका हुन्।

समितिको तथ्याङ्कअनुसार जिल्लाको मण्डन देउपुर नपाका ९५ दशमलब २७, धुलिखेलका ९८ दशमलब ०७, बनेपा नपाका ९७ दशमलब ०७, पनौती नपाका ९५ दशमलब ०५, नमोबुद्ध नपाका ९६ दशमलब ४०, पाँचखाल नपाका ९८ दशमलब ९८ तथा खानीखोला गाउँपालिकाका ९६ दशमलब ७१, तेमालका ९५ दशमलब ९७, भुम्लुका ९५ दशमलब ०५, बेथानचोकका ९५ दशमलब ८१, महाभारतका ९७ दशमलब ९८, रोशीका ९८ दशमलब ९८ र चौँरीदेउराली गाउँपालिकाका ९६ दशमलब ८३ जनसङ्ख्या साक्षर भएका हुन्।

१५ देखि ६० वर्ष उमेर समूहका जनसङ्ख्या ९५ प्रतिशतभन्दा माथि रहेको सन्दर्भमा साक्षर जिल्ला घोषण गर्न सकिने अन्तरराष्ट्रिय मान्यता एवं नेपालको प्रचलित कानूनबमोजिम काभ्रेपलाञ्चोक जिल्लालाई साक्षर जिल्ला घोषणा गर्न लागिएको हो।

जिल्लामा साक्षरता अभियानलाई निरन्तरता दिँदै जानेछौँ, यो अभियान पनि सरकारी तथा गैरसरकारी क्षेत्रको सहकार्यमा सफल भएको होु, उनले भने।

यसअघि मुलुकका ५१ वटा जिल्लालई साक्षर जिल्ला घोषणा गरिसकिएको छ। विभिन्न दस्तावेजमा जनाइएअनुसार नेपालमा २००४ सालमा आधार शिक्षाको थालनीसँगै लेख्य साक्षरता शिक्षाको औपचारिक प्रारम्भ भएको थियो।

२००८ सालपछि भने आम जनसङ्ख्यालाई साक्षर बनाउने अभियानको थालनीसँगै ‘नेपालमा शिक्षा प्रतिवेदन–२०११’ले प्रौढ साक्षरता कार्यक्रमलाई जोड दिन सिफारिस गरेपछि २०१३ सालदेखि योजनाबद्ध रुपमा अघि बढाइएको हो।

साक्षरता शिक्षालाई जीवन पद्धतिसँग आबद्ध गर्न २०२२ सालदेखि कार्यमूलक साक्षरतालाई समावेशपछि २०२८ सालको राष्ट्रिय शिक्षा पद्धति योजनाको मध्यावधि मूल्याङ्कनपछि साक्षरता कार्यक्रमलाई अझ व्यापकता बनाइँदै ल्याइएको छ। रासस

प्रतिक्रिया
सम्बन्धित