शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

सेनामा राजीनामा दिने बढे

दैनिक नेपाल २०७६ फागुन ३ गते ७:२९

काठमाडौं, ३ फागुन । नेपाली सेनाका उच्च तहका अधिकारीहरूले राजीनामा दिने क्रम बढेको छ । सैनिक मुख्यालयका अनुसार यो वर्ष साउनदेखि पुससम्ममा मात्र ४९ जना उच्च अधिकारीहरूले राजीनामा दिएका छन् । रक्षा मन्त्रालयका अनुसार छोटो समयमा यति धेरै सैनिक उच्च पदाधिकारीहरूको राजीनामा जंगीअड्डाबाट स्वीकृतिका लागि मन्त्रालयमा आएको यो पहिलो पटक हो ।

राजीनामा दिनेमा अधिकृत क्याडेट, सहायक सेनानी, उपसेनानी, सहसेनानी, सेनानी, प्रमुख सेनानी, महासेनानी, सहायक रथीदेखि उपरथीसम्म रहेका छन् । प्राविधिक उपरथी सुधीर श्रेष्ठ तथा सहायक रथीद्वय जीत गुरुङ र अजय राईले केही समयअघि मात्र राजीनामा दिएका थिए । यस्तै, केही महासेनानीसहित अन्य अधिकृत तहका अधिकारीहरूले राजीनामासमेत गरेका छन् ।

तथ्यांकअनुसार साउनमा ४, भदौ र असोजमा १/१, कात्तिकमा १७, मंसिरमा १६, पुसमा १० जना सेनाका उच्च अधिकारीहरूले राजीनामा दिएका हुन् । अधिकतरले घरायसी कामलाई राजीनामा दिनुको कारण उल्लेख गरेका छन् । तर स्रोतका अनुसार प्रधानसेनापति पूर्णचन्द्र थापाले चालेको कदममाथि असन्तुष्टि जनाउँदै राजीनामा दिन थालेका हुन् ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले भने संगठनमा माथि जाने बाटो सकिएकाले र अवकाशपछि अन्य ठाउँमा जागिर नपाउने हुनाले उनीहरूबाट राजीनामा आएको दाबी गरे । ‘संयुक्त राष्ट्रसंघलगायत अन्य संस्थाहरूबाट अवकाश पाएको भनेपछि जागिर पाइँदैन । राजीनामा दिएको भनेपछि भने जागिर पाउने सम्भावना हुन्छ,’ उनले भने । सेनाका अधिकृतस्तरका उच्च अधिकारीहरूले राजीनामा दिँदै हिँड्न थालेपछि नेतृत्वप्रति प्रश्न उठ्ने सेनाका एक अधिकारीले बताए ।

संगठन छाड्ने उच्च अधिकारीहरूले २०७४ भदौ २४ बाट थापाले नेतृत्व गरेसँगै चेन अफ कमान्डमा समस्या भएको अरोप लगाएका छन् । प्रधानसेनापति थापाले प्राविधिकतर्फका उच्च अधिकारीहरूलाई विश्वास नगरेको, नातावाद–कृपावादलाई निरन्तरता दिएको र संगठनको कामभन्दा पनि मिडियामा प्रचार गर्न केन्द्रित गरेको गुनासो बढेको छ । कान्तिपुर दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित