बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

अपराधी समात्ने आधार सिसी क्यामेरा

दैनिक नेपाल २०७६ फागुन ३ गते ७:२५

काठमाडौं, ३ फागुन । आपराधिक क्रियाकलापमा संलग्नलाई समात्न सिसी क्यामेरा महत्वपूर्ण साधन बन्न थालेको छ। प्रहरीका अनुसार सानाठूला अपराधमा संलग्नहरू सिसी क्यामेराकै सहायताले पक्राउ पर्दै आएका छन्।

सीसी क्यामेरामा कैद भएका फुटेजको सहयोगमा फरार अभियुक्तलाई प्रहरीले समातेर कारबाहीको दायरामा ल्याएका उदाहरण धेरै छन्। कतिपय शंकास्पद घटनाको पुष्टि गर्न पनि सीसी क्यामेराकै प्रयोग हुने गरेको छ। यसको एउटा ज्वलन्त उदाहरण हो– माघ २४ गते शुक्रबार बिहान भएको कलंकीको अन्डरपासको दुर्घटना।

त्यहाँ बा४ख ८५७९ नम्बरको टिपरले ठक्कर दिँदा प्रदेश २–०३००४ प ५५० नम्बरको मोटरसाइकलमा सवार दुईजनाको घटनास्थलमै ज्यान गएको थियो। ठक्करपछि टिपर भोको थियो। तर प्रहरीले सोही दिन दिउँसोपख सिसीटीभी फुटेजका आधारमा टिपर र चालकलाई नियन्त्रणमा लियो।

साउनयता ट्राफिक नियम मिच्ने, दुर्घटना निम्त्याउने, भाग्ने, अपराधमा संलग्न सात हजार तीन सय ७६ जनालाई सिसी क्यामेराकै आधारमा प्रहरीले पक्राउ गरेको छ।

मंसिर ७ गते मर्निङ वाकमा निस्किएका चिकित्सक प्रभु जोशीलाई बानेश्वरस्थित जेब्राक्रसबाट सडक पार गर्ने क्रममा दुर्घटनामा परे।

सिभिल हस्पिटलमा आबद्ध उनलाई ठक्कर दिएर गाडी भागेको थियो। महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले घटनाको तीन दिनपछि सिसीटिभी फुटेजका आधारमा रामेछापबाट बा३ख ६१४ नम्बरको बससहित चालकलाई नियन्त्रणमा लियो।

त्यस्तै पुस ८ गते बिहान पौने ६ बजे गुर्जुधारा चोकमा ट्रकले प्रदेश ३–०२–००९ प ७६२९ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा चालक चन्द्रागिरिका अर्जुनबहादुर केसीको घटनास्थलमै ज्यान गयो। सिसीटिभी फुटेजका आधारमा ठक्कर दिएर भागेको ना८ख ३४२४ नम्बरको ट्रक दुई दिनपछि ललितपुरको चापागाउँबाट समातियो।

गत सोमबार सानेपामा भएको हत्यापछिको आत्महत्या प्रकरणमा पनि प्रहरी सिसी क्यामेरोको फुटेजका आधारमा अनुसन्धान अघि बढाएको छ। नागरिक दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित