शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

बूढीगण्डकी जलविद्युत् अब छिट्टै नै निर्माण हुनेछ : अध्यक्ष दाहाल

दैनिक नेपाल २०७६ फागुन २ गते २१:५१

फाइल तस्वीर

धादिङ, २ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बूढीगण्डकी जलविद्युत् परियोजनाको कामले अब छिट्टै गति लिने बताउनुभएको छ ।

सातौँ धादिङ महोत्सवको धादिङबेँसीमा आज उद्घाटन गर्दै उहाँले धादिङ र गोरखाका जनताको जीवनस्तरमा गुणात्मक फड्को मार्ने परियोजना भएको हुँदा मुआब्जाको काम सकिएकोले यसको काम छिट्टै हुने बताउनुभयो ।

जलविद्युत् परियोजनाका प्रभावितको पुनर्वासको विषयमासमेत छलफल भएको बताउँदै उहाँले यसबाट आर्थिक विकास र पर्यटन विकासमा देशलाई ठूलो फाइदा पुग्ने दाबी गर्नुभयो ।

पृथ्वीराजमार्गको वैकल्पिक मार्गको रूपमा त्रिशूली र मस्र्याङ्दीमा समानान्तर राजमार्ग बनाउन सरकार लागि परेको उहाँको भनाइ थियो ।

निजी, सार्वजनिक र सहकारीको विकास गर्दै समृद्धि हासिल गर्न सकिने धारणा व्यक्त गर्दै अध्यक्ष दाहालले ल्हसाबाट काठमाडाैँ, पोखरा हुँदै लुम्बनी रेलमार्ग बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । हालको अवस्थामा निजी क्षेत्र पनि उत्साहित भएको बताउँदै उहाँले विदेशी लगानी भित्रिए मात्र नेपाल प्रगतितर्फ अग्रसर हुने धारणा व्यक्त गर्नुभयो ।

धादिङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष रुद्रबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चेपाङ, मगर, लामा, झाँकी प्रस्तुत गरिएको थियो ।

कूल १५५ कक्ष रहेको महोत्सवले पाँच करोडको कारोवार गर्ने छ भने महोत्सवमा दुई लाख मानिसले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ ।

धादिङमा उत्पादन भएका राडीपाखी, ढाका, हस्तकला, तथा रेशम आदि सामाग्रीको प्रदर्शनी गरिएको छ । उद्घाटन समारोहमा सांसद खेम लोहनी, मीन विश्वकर्मा, भूमी त्रिपाठी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । –रासस

प्रतिक्रिया
सम्बन्धित