शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

गच्छादारलगायतलाई पक्राउ गर्न बाटो खुल्यो, सीआईबीमा मुद्दा

दैनिक नेपाल २०७६ फागुन २ गते १३:०१

काठमाडौं, २ फागुन । बालुवाटारको ललितानिवासको जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छादारसहितलाई पक्राउ गर्न प्रहरीलाई सजिलो बाटो बनेको छ ।

गृह मन्त्रालयले नै प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)मा १७२ जनाविरुद्ध मुद्दा चलाउनका लागि जाहेरी दिएपछि यस्तो बाटो खुलेको हो । सीआईबीले बुझाएको प्रतिवेदनका आधारमा नै गृहले जाहेरी दिएको हो । अब, सीआईबीले गच्छादारसहित १७२ जनालाई पक्राउ गरी अनुसन्धान गर्न सक्नेछ ।

‘जाहेरी परेपछि व्यक्तिको ओहदा हेरिन्न, पक्राउ गरी अनुसन्धान गर्ने र रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाउन सकिनेछ’, सीआईबीका अधिकारी भन्छन्,‘प्रहरीको प्रक्रिया अघि बढ्न सक्छ ।’

गच्छादारसहित उच्च पदस्त व्यक्ति, पूर्व कर्मचारी र व्यापारीसमेत रहेका कारण कसरी पक्राउ गरी कारबाही गर्ने भन्ने सन्दर्भमा सीआईबी अधिकारी विमर्शमा छन् ।

अख्तियारले मुद्दा चलाए पनि उनीहरूलाई पक्राउ गरिएको छैन । अख्तियारसहित सीआईबीले पनि उक्त विषयमा छानबिन गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित