बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

डियर कमरेड, जम्मा दुईपटक मात्र म तिमीसँग हुन चहान्छु

विनोद ढकाल २०७६ फागुन २ गते ९:४९

-विनोद ढकाल

डियर कमरेड,

गुलाफका कति पत्रमा लुकेको हुन्छ प्रेम ? मलाई त्यो कोमल पुष्प चुँडेर आफ्नो प्रेम देखाउने लय आउँदैन । मेरो प्रेमको अभिव्यक्ति अक्षर र शव्दहरूको तालमेलमा नै हुन्छन् ।

संगीत, धुन र कोइलीका सुरमा पवित्र बनेर बसेको छ प्रेम । ती सबै सबैलाई मनको मझेरीमा राखेर तिनैलाई तिमीप्रति समर्पण गर्न चहान्छु ।

१४ फेब्रुअरी, दुनियाँ अनेक सुरमा छ तर प्रेमकै गीत गाउँदै । फक्रिरहेका छन् दुई मनका आकांक्षा भावना र स्पर्शसम्मका भावहरू ।

तिमी हुनु र पर जानुमा मेरो भावनाका तारहरू कति नजिक या कति टाढा हुन्छन् भन्ने अर्थमा तन्किएको अनुभूति हुन्छ । तर चुँडिएको हुन्न, चुँडिन हुन्न ।

म तिमीलाई छनौट गर्छु । र, तिमीलाई छनौट गर्नेछु धेरै भन्दा धेरैमा र, निरन्तर धेरैमा कुनै स्थिरताबिना, कुनै संकोचबिना मुटुको चालमा । म तिमीलाई छान्ने काम जारी राख्नेछु ।

म तिमीसँगको प्रेममा कुनै उपमा खोज्ने छैन । कुनै विशेषता खोजीरहेको छैन । जसरी पहाडले झरनासँग, हिमालले हिउँसँग, नदिले खोँचसँग खोज्दैन । निरन्तर तिम्रो प्रेममा बगीरहन चहान्छु । अकार र परिधिबिना, क्षेत्रफलको नापबिना जीवनयात्रामा दौडिन चहान्छु । यो प्रेमको गन्तव्य नै छैन ।

डियर कमरेड,

जम्मा दुईपटक मात्र म तिमीसँग हुन चहान्छु– अहिले र सँधैभरी ।

कसैले भनेको छ– संसारको सबैभन्दा सुन्दर चिज जो देख्न सकिँदैन, जो छाम्न सकिँदैन, जो सुन्न सकिँदैन तर महशुस गर्न सकिन्छ । त्यो भाव, त्यो संवेदना हो । र त्यो तिमी हौ ।

एउटा जीवन छ त्यो पनि चाँडै नै सकिने यथार्थ नै हुन्छ । तर त्यहि जीवनमा अन्तिमसम्म प्रेमका लागि के गरियो भन्नेचाहिँ स्मरणमा रहन्छ । यसकारण अँगालोभरी मात्र होइन, अनन्त अँगालोभरीका संवेदनाको थुप्रोमा तिमीलाई उभ्याउन चहान्छु, डियर कमरेड ।

उकाली ओराली, भन्ज्याङ चौतारीका यात्रा हुन् अथवा कठिन र सरल जीवनका उतारचढाव दुखी नहुनेगरी त्यो प्रेमको बर्षामा रुझ्ने रहरको यात्रा दिन चहान्छु ।

म धेरै पटक प्रेममा परेको छु । अनेक पटक प्रेममा झरेको छु  तिमीमा मात्रै । प्रेम केही होइन, प्रेमी केही हुनसक्छ । तर प्रेमी र प्रेमचाहिँ सवैथोक हो भन्ने उदाहरण बन्न चहान्छु, डियर कमरेड ।

मलाई थाहा छ संसारको एक जना व्यक्ति हुँ म । एउटा मानिसका रुपमा मेरो टाउकोको गणना हुन सक्छ । तर यहि एउटा व्यक्ति, एउटा मानिस, तिम्रो लागि संसार सरह बन्न चहान्छु, डियर कमरेड ।

यो मौका छ, यो समय छ । यो दिन छ जहाँ संकोच छैन । भ्यालेन्टाइनको दिन हो । सयौं जोडीको प्रेमलाई नाश गरेपछि फक्रिएको प्रणयको दिन भएकैले म प्रस्ताव गर्न चहान्छु– प्रेम भनेको तिम्रो कारणले पत्तो लगाएको चिज हो । के तिमी पनि त्यो प्रेम मभित्र पत्ता लगाउन सक्छौ, डिर कमरेड ?

प्रतिक्रिया
सम्बन्धित