४ कार्तिक २०८३, बुधबार

बालविवाह रोक्न कन्या मुद्दती खाता

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगन्ज, २ फागुन । बाँकेका दुई स्थानीय तहले बालविवाह रोक्न मुद्दती खाता र बिमा योजना ल्याएका छन्। २० वर्ष उमेर भएपछि मात्र विवाह गर्नुपर्ने कानुनी व्यवस्थालाई मूर्त रूप दिन डुडुवा गाउँपालिकाले चालु आर्थिक वर्षदेखि कन्या मुद्दती शिक्षा कोषको व्यवस्था गरेको हो।

एक तथ्यांकअनुसार डुडुवा गाउँपालिकामा पुरुष बालविवाह ८३.१६ प्रतिशत र महिला ५०.२२ प्रतिशत छ। कोषमा २९ लाख रुपैयाँ राखिएको छ। गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढा भन्छन्, ‘पाँच हजार रुपैयाँ गाउँपालिकाको र थप पाँच हजार रुपैयाँ अभिभावकको गरी १० हजार रुपैयाँको मुद्दती खाता खोलिन्छ। २० वर्षे मुद्दती खातामा राख्दा रकम झन्डै ७३ हजार रुपैयाँ हुन आउँछ।’

गाउँपालिकाले कोष सञ्चालनका लागि कन्या मुद्दती शिक्षा कोषको व्यवस्था तथा सञ्चालनसम्बन्धी कार्यविधि २०७६ स्वीकृत गरेको छ। कार्यविधिमा अभिभावक वा कन्या स्वयंले २० वर्ष नपुग्दै विवाह गरे–गराएमा कोष निष्क्रिय हुने र रकम भुक्तानी नहुने व्यवस्था छ।

बालिकालाई सम्पूर्ण खोप दिनुपर्ने, पाँच वर्ष पुग्नेबित्तिकै विद्यालय भर्ना गर्नुपर्ने, कम्तीमा एसईईसम्म अध्ययन गराउनुपर्ने सर्त छन्। योजनामा आबद्ध कन्याको प्राथमिक स्वास्थ्य उपचार निःशुल्क हुनेछ। गत साउनमा जन्मेका सबै कन्याले यो सुविधा पाउनेछन्। अहिलेसम्म १२ जनाले यो सुविधा लिएका छन्। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।