बिहीबार, २७ वैशाख २०८१
DainikNepal.com
बिहीबार, २७ वैशाख २०८१

प्रतिविद्रोह अवधारणा बटुल्दै सेना

दैनिक नेपाल २०७६ फागुन २ गते ७:०६

काठमाडौं, २ फागुन । सत्तारूढ नेकपाले ‘जनयुद्ध’ दिवस मनाइरहँदा नेपाली सेनाले ‘नेपालमा विद्रोहका गतिशीलता ः दिगो शान्तिका लागि पाठ’ विषयक कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, प्रधानसेनापति पूर्णचन्द्र थापा, रक्षासचिव रश्मिराज पाण्डे, रथी, उपरथी, सहायक रथीहरू, पूर्वराजदूतहरू, सांसद र विभिन्न क्षेत्रका विज्ञ सहभागी थिए।

सेनाले उक्त कार्यशाला बदलिँदो समय र भूगोल सुहाउँदो प्रतिविद्रोहसम्बन्धी अवधारणा तथा रायसुझाव प्राप्तिका लागि आयोजना गरेको बताएको छ।

भविष्यमा आइपर्न सक्ने सुरक्षा चुनौती सामना गर्न कार्यक्रम सहयोगी सिद्ध हुने सेनाले स्पष्ट पारेको छ। सेनाले तत्कालीन माओवादी विद्रोहबाट पाठ सिक्नुपर्ने विषयमा अन्तरक्रिया गरेको हो। नेपाली सेनाले नेत्रविक्रम चन्द विप्लवको गतिविधिलाई द्वन्द्वको झिल्को भन्दै त्यसलाई समाधान गर्नुपर्ने बताउँदै आएको छ।

उपप्रधानमन्त्री पोखरेलले माओवादी द्वन्द्व मुलुकको आन्तरिक कारणबाट आरम्भ भए पनि त्यसमा बाह्य मलजल उत्तिकै रहेको बताए। माओवादी र एमाले मिलेर नेकपा भएको छ भने रक्षामन्त्रीसमेत रहेका पोखरेल उक्त पार्टीको सचिवालय सदस्य हुन्।

पोखरेलले भने, ‘संसारमा आन्तरिकसँगै बाह्य कारणले द्वन्द्व बढेको हुन्छ। त्यो त्यतिबेला हामीकहाँ लागू भएन होला र ? ’ उनले त्यस्तो अवस्थालाई नेपाली आफैं एकबद्ध भएर समाधान गरेको र आगामी दिनमा त्यस्ता समस्या देखा परे आफैंले समाधान गर्नुपर्ने बताए।

नेपालले विगतमा एक दशकसम्म सशस्त्र द्वन्द्वको अनुभव बटुलेको र त्यसको समाधान विश्वमै उदाहरणीय रहेको बताए। नेपालभित्र वा द्वन्द्वग्रस्त अन्य मुलुक त्यहाँको शान्ति स्थापनामा नेपाली सेनाको महत्वपूर्ण भूमिका रहेको पनि उनले बताए।

उनले भने, ‘हाम्रो सेनाको इतिहास गर्व गर्नलायक छ। नेपाली सेना जहिल्यै पनि साधक रह्यो, बाधक बनेन्।’ स्टाफ कलेजका नेतृत्व गरिहेका उपरथी ईश्वर हामालले तत्कालीन माओवादीको द्वन्द्व, नेपाली सेनाको भूमिका, राष्ट्रसंघको उपस्थिति, दलहरुको भूमिकादेखि दरबारको बिदाइसम्मको विषय उठान गरेका थिए।

त्यही विषयमा विभिन्न चार खण्डमा समूहगत छलफल भएको थियो। डा. विष्णुराज उप्रेती, पूर्वराजदूत डा. शम्भुराम सिम्खडा र सांसद डा. दीपकप्रकाश भट्टले छुट्टाछुट्टै विषयमा कार्यपत्र प्रस्तुत भएका थिए। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित