बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

निर्बाध नेपाल आउँछन् चिनियाँ

दैनिक नेपाल २०७६ फागुन २ गते ६:४०

काठमाडौं, २ फागुन । चीनको वुहान सहरमा कोरोना भाइरस संक्रमणको जोखिममा रहेका नेपालीलाई स्वदेश फर्काउन आनाकानी गर्दै आएको सरकारले चिनियाँ पर्यटक भने दिनहुँ निर्बाध भित्र्याइरहेको छ ।

कोरोना भाइरस संक्रमणलगत्तै अमेरिका, क्यानडा, अस्ट्रेलिया र युरोपका अधिकांश मुलुकले चीनबाट सीधै प्रवेश गर्ने यात्रुलाई रोक लगाएका छन् । कतिपयले चीनमा निर्मित सामान आयातमै प्रतिबन्ध लगाएका छन् । चीन स्वयंले पनि प्रभावित प्रान्त हुपईमा आफ्नै नागरिक आवागमनमा रोक लगाएको छ । अन्य सहरमा पनि घरबाहिर ननिस्कन, हूलमूल नगर्न र मिलेसम्मका काम घरबाटै गर्न प्रोत्साहन गर्दै आएको छ ।

चीनका विभिन्न सहरबाट नेपालमा सातामा सय हाराहारीमा पर्यटक आउने गरेको विमान कम्पनीका सञ्चालकहरूले जनाएका छन् । कोरोना भाइरस संक्रमणका कारण नेपाल आउने चिनियाँ पर्यटकको संख्या ह्वात्तै घटे पनि आउने क्रम रोकिएको छैन ।

अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले चिनियाँ पर्यटक आइरहेको बताए । उनले भने, ‘पर्यटक आइरहेका छन् । यकिन संख्या थाहा छैन ।’

उनका अनुसार भाइरस संक्रमणले बढी प्रभावित वुहानबाट नेपाल आउन चीनले नै दिएको छैन ।

पिपुल्स हेल्थ मुभमेन्टका संयोेजक एवं जनस्वास्थ्यविद् डा. शरद वन्त चीनबाट आइरहेका पर्यटकको पर्याप्त स्वास्थ्य परीक्षण गर्नुपर्ने बताउँछन् । उनले भने, ‘हामीसँग पर्याप्त उपकरण छन् । परीक्षण हुन्छ भने चिनियाँ पर्यटक आवागमन रोक्नु पर्दैन, अन्यथा सोच्नुपर्ने हुन्छ ।’

सरकारले नेपाली विद्यार्थीलाई उद्धारमा अनिर्णयको बन्दी हुन नहुने डा. वन्तको भनाइ छ । ‘चीनमा रहेका विद्यार्थी साँच्चिकै अप्ठेरोमा छन् भने उद्धारमा ढिलाइ गर्नु हुँदैन । राज्य अभिभावक हो । जतिसक्दो छिटो उद्धार गर्नु उसको दायित्व हो’, उनले भने ।

चीनका विभिन्न सहरमा उडान भरिरहेका चिनियाँ एवं नेपाली विमान कम्पनीले पर्यटक ओसारिरहेका छन् । चाइना स्टर्नको साताको ११ मध्ये दुईवटा उडानबाट पर्यटक नेपाल आइरहेका छन् । त्यस्तै चाइना साउदर्नको साताको १४ वटा उडानमध्ये २ वटाबाट पर्यटक भित्रिरहेका छन् । अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित