बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

‘जनयुद्ध दिवस’मा सरिक हुँदै प्रधानमन्त्री

दैनिक नेपाल २०७६ फागुन १ गते ७:३५

काठमाडौं, १ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली ‘जनयुद्ध दिवस’का अवसरमा आयोजित कार्यक्रममा सहभागी हुने भएका छन्।

बिहीबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा जनआन्दोलन तथा जनयुद्धका सहिदहरूको स्मृतिमा उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो। तत्कालीन माओवादीले ‘जनयुद्ध’ थालनी भएको दिन भन्दै फागुन १ लाई जनयुद्ध दिवसका रूपमा मनाउँदै आएको थियो।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीककरण भएपछि फागुन १ लाई जनआन्दोलन र जनयुद्धमा सहिद भएकाहरूको स्मृतिका रूपमा लिन थालिएको हो। गत वर्ष पार्टी महासचिव विष्णु पौडेलद्वारा जारी पत्रमा दुवै अध्यक्ष उपस्थित हुने भनिए पनि ओली भने सहभागी भएनन्।

पार्टी केन्द्रीय कार्यालयले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा बिहीबार बिहान सो कार्यक्रम आयोजना गर्ने जनाएको छ।

पार्टी केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले पनि प्रधानमन्त्री ओली सो कार्यक्रममा सहभागी हुने जानकारी दिए। ‘पार्टी कार्यालयले दिएको जानकारीअनुसार प्रधानमन्त्रीज्यू कार्यक्रममा सहभागी हुनुहुनेछ,’ कार्यालय सचिव रिजालले भने। पार्टी एकताको पहिलो वर्ष पार्टी कार्यालय धुम्बाराहीमा विशेष कार्यक्रम आयोजना गरी नेकपाले जनयुद्ध दिवस मनाएको थियो।

त्यतिबेला अध्यक्ष ओलीसहित माधवकुमार नेपाल, झलनाथ खनाल, ईश्वर पोखरेललगायत नेताहरू सहभागी भएनन्। पूर्वएमालेका अमृत बोहोरा, वामदेव गौतम, सुवास नेम्वाङ, महासचिव पौडेल भने कार्यक्रममा सहभागी भए। उक्त कार्यक्रममा पूर्वमाओवादी कार्यकर्ताको भने भीड नै लागेको थियो।

तत्कालीन नेकपा माओवादीले २०५२ सालमा सशस्त्र युद्ध सुरु गरेको दिनलाई जनयुद्ध दिवसका रूपमा मनाउँदै आएको थियो। तर तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि जनयुद्ध दिवस मनाउने कि नमनाउने भन्ने विषय अन्योलमा थियो।

गत वर्ष पार्टी कार्यालयमा सोही अन्योलकै बीच दिवसलाई जनआन्दोलनका सहिद र जनयुद्धका सहिदको स्मृतिका रूपमा मनाइएको थियो। यसपालि पनि त्यसलाई निरन्तरता दिइएको हो। तत्कालीन माओवादी जनयुद्ध दिवस मनाउने पक्षमा भए पनि तत्कालीन एमालेका नेताहरू नमनाउने पक्षमा थिए।

गत वर्षको कार्यक्रममा ओली, नेपाल, खनाल, पोखरेललगायत नेता सहभागीता नभएपछि पूर्वमाओवादीका कार्यकर्ताले आलोचनासमेत गरेका थिए। नागरिक दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित