शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

चीनबाट नेपालीको उद्धार: यसरी गरिँदैछ तयारी

दैनिक नेपाल २०७६ फागुन १ गते ७:३०

काठमाडौं, १ फागुन । सरकारले चीनको हुबेई प्रान्तबाट उद्धार गरेका ल्याइएका नागरिकलाई भक्तपुरको खरिपाटीमा क्वारेन्टाइन राख्न तयारी पूरा गरेको छ।

कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिएको हुबेईको वुहानमा रहेका नेपाली नागरिकलाई तत्काल उद्धार गर्न चौतर्फी दबाब आएपछि सरकारले शुक्रबार नेपाल वायुसेवा निगमको वाइड बडी विमान चीनतर्फ पठाउन लागेको हो।

स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीका अनुसार स्वदेश फिर्ताका लागि चीनस्थित नेपाली दूतावासको सम्पर्कमा रहेको व्यक्तिलाई उद्धार गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिइसकेको र शनिबार उद्धार गर्नेगरी शुक्रबार वायुसेवा निगमको विशेष विमान चीनतर्फ पठाउने तयारी भएको छ। विशेष परिस्थतिका कारण समय तालिकामा फेरबदल नभए सरकारले शनिबार नेपाली नागरिकलाई स्वदेश फिर्ता ल्याउनेछ।

स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता सागर दाहालले चीनमा रहेका नागरिकको उद्धार गर्न सरकारले तयारी गरिरहेको बताए।

राष्ट्रिय मानवअधिकार आयोगले परराष्ट्र, शिक्षा र स्वास्थ्य मन्त्रालयका सचिवलाई आयोगमा बोलाएर नेपाली नागरिकलाई तत्काल उद्धार गर्न निर्देशन दिएपछि सरकार तातेको हो। चीनबाट एक सय ८६ नागरिकलाई स्वदेश ल्याउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद बिडारीको नेतृत्वमा स्वास्थ्य मन्त्रालय, परराष्ट्र मन्त्रालय, पर्यटन मन्त्रालय, नेपाली सेना, सहरी विकास तथा भवन निर्माण विभागलगायतका निकायका अधिकारी निरन्तर खटिरहेको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले बताए।

चीनबाट उद्धार गरेर ल्याएका नागरिकलाई क्वारेन्टाइन राख्नुपर्ने भएपछि सहरी विकास तथा भवन निर्माण विभाग त्यसको व्यवस्थापनमा जुटेको छ। भवन विभागका एक अधिकारीका अनुसार उद्धार गरेर ल्याइएका एक सय ८५ जनालाई क्वारेन्टाइन राख्न विभागले आफ्नो भागमा परेको जिम्मेवारी पूरा गरेको छ। सबै व्यक्तिलाई एकै ठाउँमा राख्न कठिनाइ हुने भएकाले वैकल्पिक स्थान खोजिए पनि अन्तिममा खरिपाटीमा रहेको विद्युत् प्राधिकरणको भवनमै राख्न सक्ने गरी व्यवस्थापन गरेको ती अधिकारीको भनाइ छ। भवन विभागका महानिर्देशक मणिराम गेलालले व्यवस्थापनको तयारी अन्तिममा पुगेको बताए।

नेपाली सेनाका चिकित्सकको नेतृत्वमा दुईजना नर्स र एकजना ल्याब असिस्टेन्टसहित चार सदस्यीय टोली नेपालबाट चालक दलका सदस्यसहित उद्धारका लागि पठाइने निर्णय भएको स्वास्थ्य मन्त्रालय स्रोतले बतायो। उद्धार गर्नुअघि विशेषज्ञबाट फिर्ता हुन फर्म भरेका व्यक्तिको स्वास्थ्य परीक्षण गरिनेछ। विमानमा प्रवेश गर्नुअघि कुनै व्यक्तिमा कोरोनाको संक्रमण देखापरेमा ती व्यक्तिलाई उद्धार गरिनेछैन। विमानमा राखिसकेपछि पनि लक्षण देखा परेमा विमानभित्रै आइसोलेसनको व्यवस्था गरिएको स्रोतको भनाइ छ। नागरिक दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित