शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

खानेपानी मन्त्री मगरलाई प्रधानमन्त्रीको दबाबपछि मेलम्चीबारे श्वेतपत्र जारी गर्ने तयारी

दैनिक नेपाल २०७६ माघ २९ गते १७:४६

काठमाडौं, २९ माघ । मेलम्ची खानेपानी आयोजनाको काम समयमा सम्पन्न नगरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले खानेपानी तथा ढल व्यवस्थापन मन्त्री बिना मगरलाई कार्यप्रगतिको विवरण माग गरेका छन् ।

मन्त्री मगरलाई चाँडो भन्दा चाँडो काम सक्नका लागि प्रधानमन्त्री ओलीले दबाब दिएपछि मन्त्रालयले मेलम्ची आयोजनाका लागि श्वेतपत्र जारी गर्ने तयारी गरेको छ ।

मेलम्चीको पानी काठमाडौं उपत्यकामा आउने मितिसहितको श्वेतपत्र जारी हुन लागेको मन्त्रालय सम्बद्ध स्रोतले जनाएको छ । श्वेतपत्रमा आगामी असोजसम्ममा उपत्यकाभित्र मेलम्चीको पानी घर–घरमा पुग्ने प्रस्टसँग उल्लेख हुनेछ ।

‘प्रधानमन्त्रीबाट विशेष चासो लिएर भनेको समयमा पानी उपत्यकामा वितरण हुनुपर्ने दबाब परेपछि काम छिटो गर्नका लागि मन्त्रालयलाई दबाब परेको छ’, स्रोतले भन्यो ।

आगामी असारसम्म सुन्दरीजलमा पानी ल्याएपछि त्यसको तीन महिना असोजमा उपत्यका भरी पानी वितरण गर्ने लक्ष्य मन्त्रालयले राख्नेछ । ‘मेलम्चीका विषयमा हालसम्म भएको कामको बारेमा स्पष्ट जानकारी नभएपछि जनस्तरमा समेत त्यसको प्रगति विवरण दिन प्रधानमन्त्रीको निर्देशनअनुसारै अहिलेसम्मको काम र पानी आउने मितिको लक्ष्यसहितको श्वेतपत्र जारी हुनेछ’, उच्च स्रोतले भन्यो ।

मन्त्री मगर, तत्कालिन सचिव गजेन्द्र ठाकुरलगायतको आन्तरिक विवादका कारण मेलम्चीको काम गरिरहेको इटालियन ठेकेदार कम्पनी सीएमसीलाई भगाइएको थियो । त्यसपछि आयोजनाको सुरुङमार्ग र हेडवक्र्स (बाँधस्थल)को काम चिनियाँ कम्पनी सिनो हाईड्रोले पाएको छ ।

०५२ सालमा पहिलोपटक मेलम्ची खानेपानी लिमिटेड स्थापना गरेर काम थालिएको थियो । ०५५ मा विकास समितिमा लगिएको आयोजनाले २४ बर्ष हुँदा पनि पूर्णता पाएको छैन । यो दुई पञ्चबर्षिय योजनाअनुसार ०६२ मा नै सकिनुपर्ने थियो ।

कमिशनका कारण विभिन्न ठेकेदार कम्पनीले हात छाड्दै जाँदा सीएमसीले काम अघि बढाइरहेको थियो । दुई बर्षअघि उक्त मन्त्रालयको जिम्मा मन्त्री मगरले पाएपछि ६ महिनामा मेलम्ची उपत्यकामा आउने घोषणा गरेकी थिइन् । काम पुरा गर्न कठिनाई भएपछि मन्त्री मगरले तीनजना सचिवको हेरफेर नै गरिन् ।

हाल भने मेलम्ची कहिले आउँछ भन्नेबारे मन्त्री मगरले कुनै जानकारी नदिएपछि मन्त्रालयको प्रगति विवरण आम साधारणलाई पनि जानकारी हुनुपर्छ भन्ने दबाब परेको थियो ।

प्रतिक्रिया
सम्बन्धित