मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

नवनियुक्त आईजी ज्ञवालीको घोषणा : गैर व्यावसायीक आचरण निर्ममतापूर्वक निर्मूल पार्छु

दैनिक नेपाल २०७६ माघ २९ गते १२:२९

काठमाडौं, २९ माघ । नेपाल प्रहरीका नवनियुक्त महानिरिक्षक (आईजी) ठाकुर ज्ञवालीले संगठन भित्र र बाहिरका गैर व्यावसायीक आचरणमा निर्ममता अपनाउने बताएका छन् ।

बुधबार गृह मन्त्रालयमा सचिव महेश्वर न्यौपानेबाट आईजीको दज्र्यानी चिन्ह लगाएपछि उनले प्रहरीलाई व्यावसायीक प्रतिष्ठामा कायम राख्दै संविधानविपरितका विभिन्न गतिविधिमा पनि कठोरता अपनाउने बताए ।

‘गौरवमय इतिहास रहेको नेपाल प्रहरी संगठनको नेतृत्व तहमा पदोन्नति हुँदा मलाई खुशी लाग्नु स्वाभाविक हो, नेपाल सरकारको यस निर्णयले मलाई नागरिकको सुख, शान्ति र सुरक्षाका लागि अझ क्रियाशिल रही खटिने सुनौलो अवसर प्राप्त भएको छ’, आइजी ज्ञवालीले भने,‘मातृभूमि र नेपाली जनजनको सेवामा निष्ठापूर्वक समर्पित रहने प्रण समेत गर्दछु ।’

नेपाल प्रहरी नेपालको संविधानको सफल कार्यान्वयन, विधिको शासन, नागरिकका नैसर्गिक हक, अधिकारको संरक्षण र संवद्र्धन गर्न दृढसंकल्पित रहेको बताएका उनले कुनै पनि अवान्छित ध्वंसात्मक र संविधान विपरीतका गतिविधिलाई पूर्णतः नियन्त्रण, निस्तेज गरी कानूनको दायरामा ल्याउने घोषणा गरेका छन् ।

मुलुकको शान्ति सुव्यवस्था कायम राख्न नेपाल प्रहरकिा तमाम सदस्यहरु अहोरात्र कर्तव्यनिष्ठ रहेको बताउँदै आईजी ज्ञवालीले थपे,‘मुलुक समृद्धि, समुन्नति र सुशासनको क्षितिजमा उदाउँदै छ । यस ऐतिहासिक क्षणमा चुनौति र अभावको छेकवारलाई उर्जाका रुपमा परिणत गरी राष्ट्रका नाममा योगदान गर्ने जाँगर र सामथ्र्य हामीमा छ । यसर्थ जस्तोसुकै चुनौतिमा पनि उच्च व्यवसायिक धर्म र उचो मनोबलका साथ कर्तव्य पथमा समर्पित रहन प्रहरी महानिरीक्षकदेखि प्रहरी जवानसम्मका सम्पूर्ण सदस्यहरु प्रतिबद्ध रहेको कुरासमेत म यहाँ इमान्दारिताका साथ व्यक्त गर्दछु ।’

उनले नेपाल प्रहरीले सम्पादन गर्ने हरेक जिम्मेवारी व्यवसायिक, पारदर्शी तबरबाट सम्पादन हुने दाबी गर्दै प्रहरी कर्मचारी आफ्नो जिम्मेवारीप्रति पूर्णतः जवाफदेही रहने बताए ।

नेपाल प्रहरीको सांगठनिक सुदृढीकरण र कर्मचारीहरुको वृत्ति विकासलाई जोड दिनु आजको आवश्यकता रहेको बताउँदै उनले शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा आगामी दिनमा सरोकारवाला निकायसँगको सहकार्य अझै विस्तारित हुने पनि विश्वास दिलाए ।

प्रतिक्रिया
सम्बन्धित