नुवाकाेट, २९ माघ । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकाले मेयर र उपमेयर भारत जाँदा सार्वजनिक बिदा दिएको छ ।
बिदा दिएर मेयर राजेन्द्ररमण खनाल र उपमेयर कविता ढुंगाना सोमबार भारत गएका हुन् । ०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट उम्मेदवार बनेका खनाल र तत्कालीन माओवादीकी उम्मेदवार ढुंगाना विजयी भएका थिए ।
नगरपालिकाका प्रवक्तासमेत रहेका वडा नम्बर १३ का अध्यक्ष पशुपति लोहनीका अनुसार मेयर र उपमेयर युएनओपिएस नामक संस्थाको कार्यक्रममा भाग लिन भारत गएका हुन् ।
मेयर र उपमेयर भारत जाने दिन सार्वजनिक बिदा दिएपछि अहिले विवाद भएको छ । बैठक नै नगरी बिदा दिने निर्णय भएकोमा वडाध्यक्षहरू असन्तुष्ट छन् ।
नगरपालिकाका अधिकृत शिवराम अधिकारीले माघ २४ गते सूचना निकालेर सोमबार बिदा दिने उल्लेख गरेका थिए ।
नगरपालिकाले दिएको विदाको सूचनामा माघ २७ गते नगरपालिका स्थापना दिवसको अवसरमा बिदा दिने निर्णय भएको उल्लेख छ । नगरपालिकाकै विवरण हेर्ने हो भने उक्त नगरपालिका माघमा नभई फागुन २७ गते स्थापना भएको छ ।











प्रतिक्रिया