दोलखा, २९ माघ । सैलुङका थुम्काथुम्कामा उभिएर वरिपरि नियाल्दा सगरमाथासहित देशका दर्जनभन्दा बढी हिमशृंखला देख्न सकिन्छ।
काठमाडौं उपत्यकावरपरका डाँडाकाँडा, महाभारत शृंखलाका पर्वतहरू मात्र होइन, चुरे उपत्यकाका विभिन्न स्थानसमेत अवलोकन गर्न सकिने ती सुन्दर ती थुम्काहरू वास्तवमै प्राकृतिक ‘भ्युटावर’ हुन्।
३४ सय मिटर उचाइमा अवस्थित सैलुङ वास्तवमा प्राकृतिक भूस्वर्ग नै हो। तर पछिल्लो समय त्यहाँको सौन्दर्यलाई पुग्नेगरी कंक्रिटको भ्युटावरलगायत संरचना निर्माण भइरहेका छन्।
व्यक्तिगत प्रयासमा मात्र नभएर पर्यटन मन्त्रालयसहित अन्य सरकारी निकायको पनि त्यस्ता संरचना निर्माणमा संलग्नता रहेको पाइन्छ। सौन्दर्यको नमुना स्थानलाई कुरूप पार्नेगरी सैलुङको डाँडामा भ्युटावरसहित अन्य संरचना ठड्याउन थालिएपछि सरोकारवालाहरू चिन्तित बनेका छन्।
२०७३ सालमा दोलखा–२ का सांसदसमेत रहेका तत्कालीन पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले एक करोड ७५ लाख रुपैयाँ रकम मन्त्रालयबाट विनियोजन गराएपछि पर्यटन विभागमार्फत टेन्डर गरेर उक्त भ्युटावर ठड्याइएको थियो। सैलुङका विभिन्न थुम्कामध्ये सबैभन्दा अग्लोमा ठड्याइएको भ्युटावर चारतले छ।
अत्यधिक हावा चल्ने भएकाले कोठाहरू बारेर तीन तलासम्म झ्याल हालिएका छन् भने वरिपरि गारो लगाइएको छ। भ्युटावर चढेर र थुम्कामा उभिएर हेर्दा देखिने दृश्यमा खासै भिन्नता पाइँदैन।
उक्त भ्युटावर बनाउने तयारीबारे थाहा पाएका स्थानीयले २०७० सालदेखि नै विरोध गर्दै आएका थिए। सैलुंगेश्वरको झोर मनगाउँलगायत बस्तीका स्थानीय पटकपटक सदरमुकाम चरिकोट आएर जिल्ला प्रशासनमा विरोधपत्र बुझाएका थिए।
‘यति सुन्दर ठाउँमा भ्युटावर बनाउन नदिऔं भनेर सिडिओ कार्यालयमा पटकपटक डेलिगेसन गयौं,’ झोर मनगाउँका लालबहादुर श्रेष्ठले भने, ‘तत्कालीन सिडिओले त्यसप्रति चासो नै दिएनन्, बरु विकासमा अवरोध नगर्नुस् भनेर हप्काए।’
भ्युटावरको सट्टा पर्यटकलाई थुम्कामा बस्न मेच, कुर्सीलगायत बनाइदिन आफूहरूले गरेको आग्रहको कुनै सुनुवाइ नभएको श्रेष्ठले बताए। नागरिक दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया