शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

दिल्लीमा आम आद्मी पार्टीको ठूलो जीत, केजरीवाल फेरि मुख्यमन्त्री, भाजपा ७ सीटमा समेटियो

दैनिक नेपाल २०७६ माघ २८ गते १८:०१

काठमाडौं, २८ माघ । भारतको नयाँ दिल्लीको विधान सभाको निर्वाचनमा आम आद्मी पार्टी (आप)ले ठूलो जीत निकालेको छ । ७० सीट रहेको विधान सभा निर्वाचनको मंगलबार आएको परिणामअनुसार आपले ६३ सीटमा जीत निकालेको छ । सन् २०१५ को तुलनामा भने आपले ४ सीट गुमाएको छ । त्यसबेला आपको ६७ सीट आएको थियो ।

केन्द्रीय सरकारमा भारतीय जनता पाटीं (भाजपा)ले दबदबा राखेको र उसको आक्रामक राष्ट्रवादी चुनावी प्रचारलाई हेर्दा आपलाई ठूलो धक्का लाग्ने अनुमान गरिएको थियो । तर विकासको राजनीतिक एजेन्डामा चुनावी मैदानमा उत्रिएको आपले त्यति ठूलो क्षति व्यहोर्नु परेन ।

बरु, ४८ सीटको दाबी गरिरहेको भाजपा भने ७ सीटमा समेटियो । जबकि, लोक सभा निर्वाचनमा नयाँ दिल्लीका ७ वटै सीटमा भाजपाले कब्जा गरेको थियो । लोक सभा निर्वाचनको मत परिणामको रुझानका आधारमा भाजपाको आक्रामक सीट आउने अनुमान मिडियाहरूले गरेका थिए ।

नयाँ दिल्लीमा लामो समयसम्म शासन गरेको भारतीय कांग्रेसले भने यस पटक पनि खाता खोल्न सकेन । २०१५ मा निल गएको कांग्रेस यस पटक पनि नमिठो हार व्यहोर्न बाध्य भयो । तत्कालिन चुनावी परिणामको तुलनामा भाजपाले भने ४ सीट बढायो । २०१५ मा भाजपाको दिल्ली विधान सभामा ३ सीट मात्र थियो ।

भारतीय मिडियामा आएका विश्लेषणअनुसार हिन्दु मुस्लिम एजेन्डा लिएर मैदानमा उत्रिएको र विभिन्न समुदायसँग भाजपा असहिष्ण बनेका कारण उसले चुनावमा हार व्यहोरेको हो ।

यसैबीच आगामी ५ बर्षको कार्यकालका लागि आपका प्रमुख अरविन्द केजरीवाल नयाँ दिल्लीको मुख्यमन्त्रीमा चयन हुनेछन् । उनले बिजुली, शिक्षा, स्वास्थ्यका क्षेत्रमा आफूले गरेको कामलाई हेरेर दिल्लीका जनताले मत दिएको बताएका छन् ।

जीतपछि समर्थक र नयाँ दिल्लीका जनतालाई सम्बोधन गर्दै केजरीवालले भने,‘आगामी ५ बर्षसम्म आपले गरेका सबै सर्तहरु जनताका लागि पूरा गरिनेछन् । नयाँ दिल्लीलाई २१ औं शताब्दिको दिल्ली बनाउनेछु ।

प्रतिक्रिया
सम्बन्धित