शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

पूर्वसचिव कार्कीपत्नी मुना हत्या : घरेलु कामदार चौधरी किन आक्रामक भए ? 

दैनिक नेपाल २०७६ माघ २८ गते ९:३७

काठमाडौं, २८ माघ । पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना अधिकारी कार्कीको हत्या गरी आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेका विजय चौधरी सानैदेखि उक्त घरमा रहेका थिए ।

दाङका चौधरीलाई ११ बर्षको उमेरदेखि कार्की दम्पत्तीले घरेलु कामदारका रुपमा राखेका थिए । उक्त घरमा बसेको ११ बर्षपछि चौधरीले मुनाको हत्या किन गरे ? भन्ने शंकास्पद बनेको छ ।

यो शंकाको विषयमा पनि विविध कोणबाट अनुसन्धान अझै जारी छ । कुटपिटको घटना बाहिरिएका कारण हत्याको खास कारण हुनसक्ने विषयमा दुईमत छैन, अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारी भन्छन्,‘हत्या हुनुमा कुनै न कुनै कारण हुन्छ, यस्तो परिस्थिति किन आयो ? यसबारेमा धेरै शंकास्पद प्रमाणहरू फेला परेका छन् ।

साधारणतया बयस्क भएका कामदारसँगको घनिष्ट सम्बन्ध या तिक्ततापूर्ण व्यवाहारले पनि हत्या भएको हुनसक्ने दुई आधारमा पनि हत्यालाई विश्लेषण गर्दै अनुसनधान अघि बढाइएको छ ।

बच्चैदेखि हुर्काएको, अध्ययनदेखि अनेक विषयमा सहयोग गरेको परिवारकी मुख्य मानिसलाई कुटपिटदेखि हत्यासम्मको परिस्थिति कसरी आयो, हामी मिहिन अनुसन्धानमा छौं, अनुसन्धान अधिकृत भन्छन् ।

कार्कीको घरमा राखिएको सीसीटिभीका कारण फूटेजमा चौधरीले मुनामाथि आक्रमण गरेको प्रस्ट देखाएको छ । तर, चौधरीले आत्महत्या गरेको भए पनि उनको शव उठाउने क्रममा अन्डरवेयरमा भेटिएको रगत र विर्यले अनुसन्धानमा अन्य पक्षको पनि महत्व हुने अधिकारीहरू बताउँछन् ।

अनुसन्धानका क्रममा आएको बयानबाजी र शवको स्वास्थ्यपरिक्षणले मृतक मुनाको मासिकश्राव पनि चलिरहेको खुल्नुले यो हत्या प्रकरणलाई जबरजस्ती करणीको प्रयास भएको हो या होइन भन्ने कोणबाट पनि अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित