बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

हत्यापछि आत्महत्या !

दैनिक नेपाल २०७६ माघ २८ गते ७:३०

काठमाडौं, २८ माघ । पूर्वसचिव अर्जुन कार्कीका घरेलु कामदारले उनकी पत्नी मुना कार्कीको ‘हत्या गरी आत्महत्या’ गरेका छन् । ललितपुर उपमहानगरपालिका–२, सानेपास्थित घरमा आइतबार बिहान कामदार विजय चौधरीले कार्कीको घाँटीमा डोरीले कसेर र टाउकामा पिर्काले हानेर हत्या गरी आत्महत्या गरेको प्रहरीको दाबी छ ।

प्रहरीका अनुसार घटनास्थल पुग्दा पूर्वसचिव कार्कीकी ४९ वर्षीया श्रीमती भान्साकोठामा रगताम्य अवस्था अचेत फेला परेकी थिइन् । कामदार दाङ, लमहीका २२ वर्षीय चौधरी भने घाँटीमा हरियो नाइलनको डोरी कसिएर मृत अवस्थामा फेला परेका थिए ।

घटनाबारे सूचना पाएलगत्तै सानेपा वृत्तबाट प्रहरी निरीक्षकको नेतृत्वमा एउटा टोली त्यहाँ पुगेको थियो । घटना हुँदा पूर्वसचिव कार्की पशुपतिमा रुद्री पूजा लगाउन गएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए । ‘कार्कीजी फर्किएपछि बीभत्स दृश्य देखेर चिच्याउँदै बाहिर निस्कनुभएछ । त्यसपछि उहाँले वा छिमेकीमध्ये कसैले प्रहरीलाई खबर गर्नुभएछ,’ उनले भने ।

प्रहरीले सानेपाकै स्टार अस्पतालबाट एम्बुलेन्स बोलाएर कार्कीलाई उपचारका लागि पठाएको थियो । ‘घटनाबारे हल्लाखल्ला भएपछि जम्मा भएका छिमेकीमध्ये एकजना महिला चिकित्साकर्मी हुनुहुँदो रहेछ, उहाँले पल्स भएको आशंका गरेपछि प्रहरीले अस्पताल पठाएको थियो,’ एसएसपी राईले भने, ‘तर अस्पतालले त्यहाँ पुर्‍याउनुअघि नै मृत्यु भइसकेको बताएको छ ।’

प्रहरी पुग्दा कामदार चौधरी डाइनिङ कोठाको भुइँमा मृत अवस्थामा लडिरहेका थिए । ‘उसको घाँटीमा नाइलनको हरियो डोरी बेस्सरी कसिएको थियो, उक्त डोरी माथि लबीको रेलिङमा बाँधिएको डोरीबाट छिनेको जस्तो देखिन्छ,’ उनले भने, ‘हामी अनुसन्धान गर्दैछौं । पोस्टमार्टमका लागि दुवै शव पाटन अस्पताल पठाएका छौं । अबेर रातिसम्ममा रिपोर्ट आउने सम्भावना छ । त्यसपछि केही निर्क्योल गरेर भन्न सकिन्छ ।’

महानगरीय प्रहरी परिसर ललितपुरका डीएसपी सन्तोष तामाङका अनुसार चौधरी २०६६ सालदेखि कार्कीको घरमा बस्दै आएका थिए । उनैले मुनाको हत्यापछि आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । ‘भान्साकोठामा रहेकी मुनालाई पछाडिबाट गएका चौधरीले घाँटीमा डोरी अल्झाएर लडाएपछि प्लास्टिकको पिर्काले टाउकोमा हानेको देखिन्छ,’ उनले भने, ‘घटना घटाएपछि विक्षिप्त बनेका उनी आफैंले पनि डोरीको पासो लगाएर आत्महत्या गरेको हुन सक्छ ।’ कान्तिपुर दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित