४ कार्तिक २०८३, बुधबार

गैरकानुनी विदेशी लगानी ११ अर्ब, सबैभन्दा बढी नेपाल भित्र्याउनेमा सुमार्गी

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ माघ । गैरकानुनी रूपमा हालसम्म ११ अर्ब रुपैयाँ विदेशी लगानी भित्रिएको तथ्यांक सरकारले फेला पारेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव दिनेश भट्टराईको नेतृत्वमा गठित समितिले २७ कम्पनीले कानुनी प्रक्रिया पूरा नगरी ९ करोड ८५ लाख ९१ हजार ३ सय ४९ अमेरिकी डलर विदेशी लगानी (एफडीआई) ल्याइएको भेट्टाएको हो ।

यो रकम हालको विनिमय दरअनुसार ११ अर्ब २३ करोड ९४ लाख १३ हजार ७ सय रुपैयाँ हुन आउँछ ।

‘खासमा हामीले उद्योग विभागबाट विदेशी लगानी स्वीकृति हुनुपूर्वको प्रत्यक्ष विदेशी लगानीको विवरण माग्दै सूचना जारी गरेका थियौं,’ अध्ययन कार्यमा संलग्न एक अधिकारीले भने, ‘तर, स्रोत नखुलेको र उद्योगमा विदेशी लगानी स्वीकृत गर्ने प्रणालीको विकास भएपछि पनि गैरकानुनी रूपमा लगानी ल्याइएका निवेदन प्राप्त भएका छन् ।’

स्रोत नखुलेको त्यस्तो रकम सबैभन्दा बढी नेपालमा भित्र्याउनेमा व्यवसायी अजेयराज सुमार्गी रहेको ती अधिकारीले बताए । सुमार्गीले कानुनी प्रक्रिया पूरा नगरी ट्याक्स हेवन (कर र स्रोत खोजी नहुने) मुलुकबाट नेपालस्थित सरकारी निकायसँग अनुमति नलिई लगानी भित्र्याएको भन्दै अध्ययन समितिमा निवेदन पेस गरेका छन् ।

‘करिब १० अर्ब रुपैयाँ उनकै हो,’ ती अधिकारीले भने, ‘बाँकी करिब एक अर्ब रुपैयाँ अन्य २६ कम्पनीको हो । उनीहरूले पनि कानुनी प्रक्रिया पूरा गरेको देखिँदैन ।’ कान्तिपुर दैनिकले खबर छापेकाे छ ।