पोखरा, २८ माघ । मोटर ग्यारेजमा काम गर्ने २२ वर्षीय आकाशको साथी थियो रक्की (कुकुरको नाम)। आकाशलाई देख्नासाथ काखमा लुटपुटिने रक्की खाना खाँदा पनि साथमै हुन्थ्यो।
आकाश पनि रक्कीलाई औधि माया गर्थे, आफ्नो भाग चुँडेर खुवाउँथे, मुसार्थे अनि फुर्सद पाउँदा काखमा लिन्थे। आकाशको खाना पाउँदा रक्की झनै खुसी हुन्थ्यो। आकाशसँगै खेल्ने चाहना रक्कीले पनि राख्थ्यो।
त्यही रक्की केही दिनदेखि हराउँदा सबैभन्दा बढी चिन्तित थिए आकाश। किनकि, रक्कीले आकाशलाई साथ दिन्थ्यो, माया देखाउँथ्यो, देख्नासाथ पुच्छर हल्लाउँथ्यो अनि खेल्न र लुटपुटिन आउँथ्यो। हराएको रक्की कहाँ गयो होला, के खायो होला भनेर सोच्थे आकाश। कतैबाट रक्की दौडँदै आइहाल्छ कि भन्ने लाग्थ्यो आकाशलाई।
रक्की त हरायो तर त्यसको आवाज भने आकाशको मात्र नभई टोलका धेरैका कानमा गुन्जिरहेको थियो। कता हो कताबाट रक्कीको आवाज आएजस्तो सबैले सुनिरहेका थिए। सोमबार बिहान सवा ७ बजेतिर दाँत माझ्दै रक्कीको आवाज पहिल्याउँदै ग्यारेज पछाडि पुग्दा उनी एक्कासि सेतीको खोंचमा खस्न पुगे।
सुरुमा त आकाशले पनि भेउ पाएनन् तर खोंचमा खसेको चाल पाएपछि उनी एकाएक अत्तालिए। केही परको दुरीको खसेको भए त साँघुरिएर बगेको सेतीको पानीमै पुग्थे तर संयोगवश बीचमै अड्किए।
आकाश हराएपछि ग्यारेजमा सँगै काम गर्ने साथीहरूले चिच्याउँदै खोंचतिर नियाल्न थाले। आफूलाई बोलाएको सुनेपछि आकाशले खोंचमा अड्किएको जनाउ दिए। त्यो खबर प्रहरीकहाँ पनि पुग्यो। बैदाम चौकी र गणको उद्धार टोली तत्काल उद्धारमा खटियो र आकाश–रक्कीलाई बचायो। आकाश उपचारपछि घर फर्किए।
पोखराको मध्य भाग भएर बग्ने सेती नदी भित्रभित्रै लुकेको छ। खोंचबाहेक आसपासका छेउमा पर्याप्त खाडल छन्, त्यसमा कहिले मान्छे त कहिले पशु खस्न पुग्छन्। खोेंचमा खसेका जोकोहीले तत्कालै उद्धार नपाए ज्यानै गुमाउँछन्।
त्यसो त सेतीमा खसेपछि उद्धार पनि उत्ति सहज छैन। बेग्लै तरिका अपनाउनुपर्छ। नत्र खोजीमा खटिने व्यक्तिसमेत जोखिममा पर्छ। तर संयोगले सोमबार आकाश भने केही माथि अड्किएकाले जोगिए। आकाश मात्र जोगिएनन्, उनको प्यारो साथी रक्की पनि त्यही खोंचमा जीवितै भेटियो। नागरिक दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया