धादिङ, २६ माघ । विज्ञान–प्रविधिको विकाससँगै संस्कृति विकासले पनि फड्को मारेको छ। संस्कृति विकासका लागि विभिन्न लाइब्रेरी, इ–लाइब्रेरी, कम्प्युटर, मोबाइललगायत डिभाइस तथा एप्सहरू बनेका छन् तर ती सबैको पहुँच ग्रामीण तथा सामुदायिक विद्यालयसम्म छैन।
यी सुविधाहरू भएकै ठाउँमा पनि पठनपाठन त्यति सहज छैन। यस्तो पृष्ठभूमिमा विद्यार्थीहरूलाई लक्षित गर्दै धादिङमा बुक–बस अर्थात् मोबाइल पुस्तकालय सञ्चालन गरिएको छ। माघ १५ देखि सञ्चालन गरिएको बुक–बसप्रति विद्यार्थीको आकर्षण बढेको छ।
झट्ट हेर्दा दमकलजस्तो तर नजिकबाट हेर्दा एकदमै नौलो सवारीसाधनजस्तो देखिने बस–पुस्तकालयभित्र विभिन्न पुस्तकहरू सजाएर राखिएका छन्। बुक–बसमा कथा, कविता तथा उपन्यासका नेपाली र अंग्रेजी भाषाका दुई हजारको हाराहारीमा पुस्तक राखिएको बुक–बसकी सञ्चालक निशा कार्कीले बताइन्।
‘हाम्रो मुख्य उद्देश्य भनेको समाजमा अध्ययन संस्कृतिको विकास गर्नु हो, शिक्षा पद्धतिलाई कसरी सुधार गर्न सकिन्छ भनेर कार्यशालाहरू पनि गर्छौैं,’ उनले भनिन्, ‘विशेषगरी सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई लक्षित गरी बस–लाइब्रेरीको अवधारणा ल्याइएको हो।’
प्रविधि विकास द्रूत भइरहेको बेला पठन संस्कृतिको विकास गर्ने उद्देश्यसहित ल्याइएको यो कार्यक्रम विद्यार्थीको क्षमता अभिवृद्धिका लागि विशेष प्रभावकारी हुने अपेक्षा देखिएको छ। विद्यार्थीले बसभित्र राखिएका पुस्तकहरू झिकेर पढ्ने गरेका छन्। नागरिक दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया