शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

आरोह–अवरोहबीच खनालको कार्यकाल

दैनिक नेपाल २०७६ माघ २५ गते ७:५५

काठमाडौं, २५ माघ । कार्यकालको बेला केही राम्रा काम गरेर आफ्नो छवि उँचो बनाउने योजनासहित नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) पद सम्हाले सर्वेन्द्र खनालले कार्यकालभर मिश्रित जिम्मेवारी निभाए। उनको कार्यकालमा प्रदेश तहमा प्रहरी संगठन विस्तार, नयाँ कानुनको अभ्यास, राजनीतिक दबाब, निर्वाचन सुरक्षाजस्ता चुनौतीको सामना नेपाल प्रहरीले खेप्यो।

कानुनविपरीत गुण्डाहरूमाथि प्रहरी इन्काउन्टर, निर्मला पन्त हत्या प्रकरण र ३३ किलो सुन काण्डजस्ता घटना उनको कार्यकालमा छताछुल्ल भए। हप्तामा एकपटक बस्नैपर्ने ‘पोलिसी कोर्डिनेसन कमिटी’को बैठक उनको कार्यकालमा जम्माजम्मी पाँचपटक मात्रै बस्यो। निरन्तर गर्नुपर्ने काम नहुँदा त्यसले प्रहरी संगठनलाई अलि कमजोर बनाएको महसुस पूर्व प्रहरीले गरे। पूर्व डिआइजी हेमन्त मल्लले खनालको कार्यकाल सरसर्ती हेर्दा केही राम्रा कामबिच विवादित घटना धेरै भएको तर्क राखे। इन्काउन्टरको विषयमा प्रहरीले पहिलेदेखि नै आलोचना खेप्दै आएकाले खनालको कार्यकालमा पनि त्यसले निरन्तरता पाएको उनको भनाइ छ। ‘बितेका २ वर्षमा राज्यको शासन प्रणाली नै फेरिएको थियो, प्रहरी पनि यसैमा ‘मोभ’ भएर शान्तिसुरक्षा दिनुपर्ने बाध्यता थियो, त्यसकारण नराम्रो भन्न मिल्दैन किनकि अहिलेको सरकारमा प्रहरीले धेरै आरोहअवरोह झेलेको छ,’ उनले भने।

पूर्व एआइजी देवेन्द्र सुवेदीले खनालको कार्यकाल सबैभन्दा कठिनाइले बितेको बताए। उनले खनालले त्यति उत्कृष्ट काम नगरे पनि शान्तिसुरक्षा खलबल्याउने विषयमा निकै सजग भएको जानकारी दिए। उनले भने, ‘उहाँको कार्यकाललाई गलत भन्न मिल्दैन, किनकि देशको अवस्थाअनुसार प्रहरीले सुरक्षा दिने हो।’ केही प्रहरीले खनालको कार्यकाल राम्रो भनेर वकालत गरे पनि पूर्वआइजिपीहरू भने उनको कार्यकालप्रति पुरै असन्तुष्ट देखिए। प्रहरी संगठन परिचालन र उत्साहमा थप्ने विषयमा खनालको नपुगेको आइजीपिहरूको तर्क छ। आइजिपीले प्रहरी संगठनलाई धमिरो लगाएर छाडेको टिप्पणी उनीहरूको छ। ‘उहाँको कार्यकाल पूरै असफल भयो, प्रहरी संगठनमा एकता, सामूहिकता र प्रतिबद्धताको भावना झन् कमजोर बन्योे,’ एक पूर्व आइजिपीले भने, ‘प्रहरी संगठन हालसम्मकै झन् डामाडोल भयो, कर्मचारीमा वितृष्णा पैदा गरियो, हप्ता–हप्तामा बस्नुपर्ने ‘पोलिसी कोर्डिनेसन कमिटी’ बैठक सो अवधिमा पाँचपटक पनि बसेन, यो सबै खेदजनक छ।’ उनका अनुसार व्यक्तिगत स्वार्थले गर्दा संस्था कमजोर बनेको छ। प्रहरी नागरिकको साथी भने पनि विश्वसनीयता गिर्ने काम गरिएका छन्।

अर्का एक पूर्वआइजिपीले पनि उनको कार्यकालको त्यसैगरी आलोचना गरे। ‘प्रहरी संगठन कमजोर भयो, गर्नुपर्ने धेरै काम गरिएनन्, खाली औपचारिक कार्यक्रममा मात्रै भाग लिने परम्पराको विकास भयो, प्रहरीको जग बलियो बनाउनेतर्फ ध्यान दिइएन, ती पूर्व आइजिपीले भने, ‘राजनीतिक स्वार्थमा लाग्दा समाजमा प्रहरीले गर्नुपर्ने धेरै काम छाडिएका छन्, मुख्य घटनाहरूमा पनि प्रहरी चुकेको छ, त्यसले कार्यकाल त्यति राम्रो हुन सकेन।’

खनालले २०७४ चैत २९ देखि आइजिपी पद सम्हालेका थिए। अहिले उनी आफ्नो कार्यकालको उत्तराद्र्धमा छन्। यही माघ २९ गतेदेखि उनी पदबाट अवकाश लिँदै छन्। आपराधिक घटनाको सत्यतथ्य उजागर, अनुसन्धानसँगै जनतालाई शान्तिसुरक्षा प्रत्याभूत गराउने निकायको मुख्य जिम्मा सम्हालेका खनालको कार्यकाल काम प्रहरीले त्यति प्रभावकारी भूमिका निभाउन नसकेको सुरक्षा अधिकारी बताउँछन्। ‘उनको कार्यकालमा देशभर हलचल मच्चाउने ठूला आपराधिक क्रियाकलाप भए,’ गृह मन्त्रालयका एक पूर्वसचिवले भने, ‘सामान्य अपराधबाहेक केही जघन्य अपराधको कारबाही किनारा लगाउने काममा खनाल त्यति सफल हुन सकेनन्।’

विषेशतः दुईवटा आपराधिक घटना केलाउन नसक्दा खनालको ‘खोट’ पकड्ने बहाना त्यही बन्यो। निर्मला पन्त हत्या प्रकरण र ३३ किलो सुन प्रकरणमा खनाल चुकेको उनी आफै स्विकार्छन्। तर, प्रहरीले गर्नसक्ने ठाउँ हुँदाहुँदै पनि पर्याप्त अनुसन्धान नगरेको आरोप उनीमाथि छ। ‘प्रहरीले हरेक मुद्दामा सन्तुलन ढंगले अनुसन्धान गर्न सक्नुपर्छ, तर केही घटनामा प्रहरी चुकेको छ, यसले विश्वास र दायित्व बिर्साउँछ,’ एक पूर्व आइजिपीले भने।

उनको कार्यकालमा अनुसन्धान नभएको घटना ३३ किलो सुन प्रकरण पनि हो। यसको जवाफ अहिले पनि प्रहरीसँग छैन। अनुसन्धान र छानबिन गर्न समिति बनेको भए पनि कुनै कार्यान्वयन भएको देखिँदैन। नागरिक दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित