काठमाडौं । दक्षिण भारतको केरला राज्यको एउटा आवासीय भवनमा बस्ने मानिस धाराहरूबाट बियर, ब्र्यान्डी र रम मिसिएको तरल पदार्थ बग्न थालेपछि अचम्भित भएका छन् ।
सोमवार बिहान उनीहरूको भान्सामा धाराबाट अचानक मदिराको गन्ध आउने खैरो झोल बग्न थालेको थियो ।
त्यसपछि आश्चर्यचकित बनेका मानिसहरूले अधिकारीहरूसमक्ष आफ्ना गुनासो राखेका थिए । छानबिनको क्रममा उनीहरूले पानी तान्ने गरेको इनारको पानी दुर्घटनावश दूषित भएको पाइयो ।
इनारनजिकै अधिकारीहरूले जफत गरेको ६,००० लिटर मदिरा नष्ट गरेर पोखिएको पाइयो ।
अदालतको आदेशपछि जफत गरिएको मदिरालाई नजिकै एउटा खाल्टोमा हालिएको थियो । तर त्योपछि नजिकैको इनारमा पुग्न गएको रहेछ ।
त्यहाँ रहेका इनारबाट केरलाको त्रिस्सूर जिल्लास्थित आवासीय भवनका १८ वटा फ्ल्याटमा पानी तान्ने गरिएको रहेछ ।
उक्त आवासीय भवनका मालिक जोशी मालिएक्कले बीबीसी हिन्दीका इमरान कुरेसीलाई भने– हामी त छक्कै पर्यौँ ।
तर कडा गन्ध आएको पानी मानिसहरूले प्रयोग गरेनन् ।
पिउन र कपडा धुन पानी नभएपछि समस्या पनि भयो। मालिएक्कलले भने, ‘बच्चाहरू विद्यालय जान पाएनन् र उनीहरूका आमाबाबु काममा जान पाएनन् ।’
त्यहाँका बासिन्दाले उजुरी गरेपछि अधिकारीहरूले तुरुन्तै आफ्नो गल्ती सुधार्न काम थालिहाले । तर पानी तानेर इनार सफा गर्न महिनौँ लाग्ने देखिएको छ ।
मालिएक्क लले भने, ‘अहिले दैनिक ५,००० लिटरजति पानी आपूर्ति गर्ने व्यवस्था गरिएको छ। तर त्यो त्यहाँ बस्ने सबैलाई पर्याप्त हुँदैन ।’
केरला भारतमा सर्वाधिक मदिरा खपत हुने राज्य हो । बीबीसी















प्रतिक्रिया