१ कार्तिक २०८३, आइतबार

अमेरिकी सिनेटबाट राष्ट्रपति ट्रम्पले पाए सफाई

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २३ माघ ।  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले महाभियोग प्रक्रियाबाट सफाइ पाएका छन्। ट्रम्पको रिपब्लिकन पार्टीको बहुमत रहेको माथिल्लो सदन सिनेटमा बुधबार भएको मतदानमार्फत् उनले राष्ट्रपति पदबाट हट्न नपर्नेगरी उन्मुक्ति पाएका हुन्।

बीबीसीका अनुसार शक्तिको दुरूपयोग गरिएको भन्ने अभियोगमा ट्रम्पको पक्षमा ५२-४८ मत परेको थियो भने अमेरिकी संसद् कंग्रेसलाई अवरुद्ध तुल्याएको अभियोगमा उनले आफ्नो पक्षमा ५३-४७ मत पाएका थिए।

विपक्षी डेमोक्र्याटहरूले डिसेम्बर महिनामा आफ्ना सम्भावित राष्ट्रपति पदका उम्मेद्वारलाई बदनाम गर्ने उद्देश्यले युक्रेनलाई दबाब दिएको भन्दै उनीमाथि अभियोग लगाएका थिए।

आउँदो नोभेम्बर महिनामा ट्रम्प महाभियोग सामना गरेर चुनावमा जाने पहिलो राष्ट्रपति हुनेछन्। रिपब्लिकन बहुमत रहेको माथिल्लो सदनमा महाभियोग पारित हुन दुई तिहाइ मत आवश्यक थियो। बुधबारको ऐतिहासिक मतदानमा सिनेटले युक्रेनसँगको ट्रम्पको लेनदेन र संवादका बिषयसँग जोडिएका अभियोगबाट छुटकारा दिएको हो।

डेमोक्र्याटहरूको बहुमत रहेको तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सले भने गत १८ डिसेम्बरमा महाभियोग पारित गरेको थियो।

राष्ट्रपति डोनल्ड ट्रम्पभन्दा पहिले अमेरिकी इतिहासमा तीनजना राष्ट्रपतिले महाभियोग प्रक्रिया सामना गरेका थिए। यद्यपि कुनै पनि राष्ट्रपतिले महाभियोगको पक्षमा मतदान भएर पराजित हुनुपरेको थिएन। रिचर्ड निक्सनले भने महाभियोगको चर्चापछि राजीनामा दिएका थिए।

महाभियोग सदनमार्फत राष्ट्रपतिलाई हटाउने संवैधानिक माध्यम हो।