४ कार्तिक २०८३, बुधबार

‘म तीन वर्षै प्रधानमन्त्री चलाउँछु’

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ माघ । प्रधानमन्त्री केपी ओलीले छिट्टै मिर्गौला प्रत्यारोपण गरी बाँकी तीन वर्ष आफैं निरन्तर सरकार चलाउने बताएका छन्। ‘अब तीन वर्षसम्म म प्रधानमन्त्री रहने हो। म छिट्टै किड्नी ट्रान्सप्लान्ट गर्छु’, प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार सम्पादकहरूसँग ओलीले भने, ‘अलि–अलि किड्नीमा समस्या छ। किन अलि–अलि समस्या राख्ने आजको जमानामा पनि ? ’

एउटा मिर्गौला थप्नु ठूलो कुरा नभएको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, ‘किन किड्नी राख्न खोजेको हो भने तीन वर्ष बेस्सरी काम गर्न सजिलो होस्। अहिले भन्दा सजिलोसँग बढी काम गर्न सकियोस् भन्ने हो।’

एमाले र माओवादी एकीकरण हुँदाका बखत दुई अध्यक्षबीच आलोपालो प्रधानमन्त्री चलाउने ‘सहमति’ भएको थियो। तर अब बाँकी तीन वर्ष पनि एक्लै चलाउने विषयमा पार्टीमा कुनै विमति नरहेको दाबी प्रधानमन्त्रीको थियो। ओलीले भने, ‘पहिला त मैले प्रचण्डजीलाई भनेको थिएँ, के भयो र आलोपालो गरौंला ? आधा म चलाउँला, आधा तपाईं चलाउनुहोला। उहाँले अस्ति भर्खर भन्नुभयो कि यो त अस्थिर हुन्छ। उहाँकै प्रस्तावमा यो आलोपालो हटाइदियौं। अब निरन्तर म बाँकी अवधि मैले लाने भन्ने विधिवत् निर्णय गर्‍यांै। अब अझ सुदृढ एकतासाथ अघि बढ्छौं।’

प्रधानमन्त्री ओली पार्टीभित्रको आन्तरिक जटिलता पनि ‘स्वाभाविक’ ठान्छन्। उनले भने, ‘के छ भने पचासौं वर्ष राजनीति गरेका खली खाएका छन्। एउटाले भनेको अर्काेले मान्ने तहको छैन। एकखालको व्यक्तित्व भनांै न, म भन्दाअघि प्रधानमन्त्री र पार्टी प्रमुख भइसकेकाहरू छन्। अनि यसो गरांै भनी आदेश दिन त मिल्दैन। यस्ता अलि–अलि जटिलता पार्टीमा हुन्छ नै ? ’

‘तपार्इंहरू कल्पना गर्न सक्नुहुन्छ’, उनले भने, ‘एमाले कहाँ थियो ? माओवादी कहाँ थियो ? वल्लो डाँडा र पल्लो डाँडाबाट तोप हानाहान गर्थे धुमधामसँग। म त झन् सारो तोपका गोलाका गोला ठोक्थें। त्यस्तो अवस्थामा हामी एकतामा आइपुगेका छौं। बाइचान्स यस्तो मौकाले भेट भए जस्तो होइन। सचेत अवस्थाबाट गरिएको एकता हो।’ अन्नपुर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।