शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

पोखरा विमानस्थलको काम ६ महिना अगाडि नै सकिन्छ : मन्त्री भट्टराई

दैनिक नेपाल २०७६ माघ २१ गते १०:४२

तनहुँ, २१ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले गरिबी अन्त्य तथा सामाजिक न्यायसहितको समाजवाद निर्माण गर्नुपर्ने बेला आएकोे बताउनु भएको छ ।

एक सय आठ फिट अग्लो व्यासमूर्ति निर्माणका लागि व्यासक्षेत्र शिव पञ्चायन विकास कोषको आयोजनामा सोमबारदेखि तनहुँको दमौलीमा सुरु भएको महायज्ञको उद्घाटन गर्दै मन्त्री भट्टराईले देशको विकासका लागि सरकार कार्ययोजनासहित अगाडि बढेको दाबी गर्नुभयो ।

मन्त्री भट्टराईले वैदेशिक व्यापार घाटा सन्तुलनमा ल्याउने, पूर्वाधार विकास, ऊर्जाको विकासमा जोड दिइएको भन्दै ऊर्जामा नेपाल आत्मनिर्भरताको बाटोमा अगाडि बढिसकेको बताउनु भयो ।

काठमाण्डौमा रहेको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलले मात्र चाप धान्न नसक्ने भएकाले भैरहवा, पोखरा र निजगढमा विमानस्थल निर्माणलाई तीव्रता दिइएको उहाँले प्रस्ट पार्नुभयो ।

गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउने तयारी भैसकेको भन्दै मन्त्री भट्टराईले पोखरा विमानस्थलको काम तोकिएको समयभन्दा ६ महिना अगाडि नै सकिने बताउनु भयो । निर्माणाधीन विमानस्थलले नेपालको पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो ।

दमौलीमा निर्माण गर्न लागिएको वेदव्यासको एक सय आठ फिटको मूर्तिले धार्मिक पर्यटनमा भूमिका खेल्ने भएकाले आउँदो बजेटमा सरकारका तर्फबाट पर्याप्त बजेट विनियोजन गरिने मन्त्री भट्टराईले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल धार्मिक सहिष्णुतायुक्त देश भएकाले अन्य धर्मका मानिस पनि मूर्ति अवलोकनका लागि आउने र यसले समग्र तनहुँकै पर्यटनमा योगदान पुग्ने उहाँको भनाइ थियो ।

मन्त्री भट्टराईले पुरानो मौलिक शहर बन्दीपुर, धार्मिक ऐतिहासिक स्थल देवघाट, आदिकविको जन्मस्थल चुँदी रम्घालाई व्यवस्थितरुपमा विकास गर्ने सरकारको सोच रहेको यो जानकारी गराउनु भयो ।

व्यास मूर्तिसहित सबै संरचना निर्माणका लागि ६२ करोड ८५ लाख पाँच हजार दुई सय ११ रुपैयाँ बजेट लाग्ने अनुमान गरिएको छ । रासस

प्रतिक्रिया
सम्बन्धित