शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

सरकारको दुई वर्षे समीक्षा : पूर्वाधार निर्माण, आर्थिक र सुशासनमा सुधार

दैनिक नेपाल २०७६ माघ २० गते ७:१६

काठमाडौं, २० माघ । केपी ओली नेतृत्वको सरकारले आगामी ३ फागुनमा दुई वर्ष पूरा गर्दै छ । ओली नेतृत्वको सरकार गत ३ फागुन २०७४ मा गठन भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत दुई वर्षको अवधिमा सरकारले असाधारण उपलब्धि हासिल गरेको बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पनि ओली नेतृत्वमा सरकार बनेपछिका झन्डै दुई वर्षको अवधिको समीक्षा गर्दै सो अवधिमा उल्लेखनीय प्रगति हासिल भएको जनाएको छ । भौतिक पूर्वाधार निर्माणदेखि सुशासनको क्षेत्रमा समेत उल्लेख्य सफलता हासिल भएको प्रधानमन्त्री कार्यालयको दाबी छ । साथै सर्वसाधारणले विस्तारै विकासको अनुभूति गर्दै गइरहेको प्रधानमन्त्री कार्यालयका अधिकारीहरूले बताएका छन् ।

प्रधानमन्त्री कार्यालयका अनुसार वर्तमान सरकार बनेयता राजस्व चुहावट कसुरमा कर्मचारीसहित ४ सय ८९ जनाविरुद्ध ९४ अर्ब ४६ करोड ९४ लाख रुपैयाँको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ । विनिमय अपचलन तथा अवैध हुन्डी कारोबार कसुरमा ३ सय ६ जनाविरुद्ध ४ अर्ब ८६ करोड ५ लाख रुपैयाँ बिगो दाबी गर्दै अदालतमा मुद्दा दायर गरिएको छ ।
यसैगरी, सो अवधिमा नक्कली तथा झुटा बिल जारी गर्ने विभिन्न फार्मलाई ६ अर्ब ७५ करोडभन्दा बढीको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार गणतन्त्र स्थापनापछिको एक दशकमा लगातार चार प्रतिशत मात्रै आर्थिक वृद्धि हुँदै आएकामा हाल ६.५ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि रहेको छ । प्रधानमन्त्री कार्यालयले नेपाल उच्च आर्थिक वृद्धिदर हासिल गर्ने संसारका दश अग्रणी मुलुकमा रहेको जनाएको छ । डिसेम्बर २०१९ मा बेलायतबाट प्रकाशित द इकोनोमिस्ट पत्रिकाले नेपाललाई उच्च आर्थिक वृद्धिदर हासिल गर्ने मुलुकमा रूपमा समावेश गरेको प्रधानमन्त्री कार्यालयले स्पष्ट पारेको हो ।

प्रधानमन्त्री कार्यालयका अनुसार यस अवधिमा वैदेशिक लगानीको प्रतिबद्धता बढेको छ । लगानी सम्मेलनमार्फत प्रतिबद्धता बढाउन सफल भएको वैदेशिक लगानीको प्रतिबद्धता १३२.५ प्रतिशतले बढेको दाबी प्रधानमन्त्री कार्यालयको छ । सबै स्थानीय तहमा लगानी ग्राम तथा औद्योगिक ग्रामको स्थापना गर्ने कार्यक्रम रहेकामा हाल सम्म ३२ वटा औद्योगिक ग्राम स्थापना भएको छ । राजधानी दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित