बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

पूजाको प्रसाद खाँदा ६७ बालबालिका बिरामी

दैनिक नेपाल २०७६ माघ १९ गते २०:५०


राजविराज, १९ माघ । सप्तरीको सुरुङ्गा नगरपालिका–७ हरिपुरमा सरस्वती पूजाको प्रसाद खाँदा आज ६७ जना बालबालिका बिरामी परेका छन् ।

त्यहाँ रहेको राष्ट्रिय प्राथमिक विद्यालयका बालबालिकाहरुले सरस्वती पूजाका प्रसाद खाँदा बिरामी परेको सुरुङगा नगरपालिकाका प्रमुख मुक्तिनाथ चौधरीले बताउनुभयो ।

उहाँका अनुसार सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरु मूर्ति विसर्जनपछि सरस्वती पूजाको प्रसाद खाँदा विद्यार्थी तथा अभिभावहरु एक्कासी बिरामी भएको नगरपालिका प्रमुख चौधरीले जानकारी दिनुभयो ।

एक दिन पहिले बनाएको बासी तरकारी र बुनियाको प्रसाद खाँदा ‘फुुड प्वाइजनिङ’ भएर बालबालिका बिरामी भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख बुनिलाल यादवले बताउनुभयो ।

प्रमुख यादवका अनुसार अहिले सम्म ६७ जना फुुड प्वाइजनिङ भएर बिरामी परेका बालबालिका तथा अभिभावकलाई स्थानीय स्वास्थ्य चौकीमा उपचार थालिएको बताउनुभयो ।

बिरामीको स्थानीय स्वास्थ्य संस्थामा चाप बढेपछि त्यहाँको विद्यालयमा राखेर जिल्ला स्वास्थ्य कार्यालय सप्तरीबाट गएको स्वास्थ्यकर्मीको टोलीले उपचार थालिएको स्वास्थ्य कार्यालयका प्रमुख यादवले भन्नुभयो ।

नगरपालिकाको ११ वटै वडाका स्वास्थ्यकर्मी हरिपुरमा भेला भएर उपचार थालिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । –रासस

प्रतिक्रिया
सम्बन्धित