मंगलबार, ४ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ४ वैशाख २०८१

चितवन प्रिमियर लिग : राप्ती र इच्छाकामना विजयी

दैनिक नेपाल २०७६ माघ १९ गते १९:१५


चितवन, १९ माघ । सिएमसी चितवन प्रिमियर लिग (सिपिएल) टि २० क्रिकेट प्रतियोगिता अन्तर्गत आज (आइतबार) सम्पन्न खेलमा राप्ती र्‍यापिडस र इच्छाकामना वारीयर्स विजयी भएका छन् ।

नारायणगढको क्याम्पाचौरमा सम्पन्न प्रतियोगिताको दोस्रो खेलमा राप्ती र्‍यापिडसले भरतपुर गुर्खाजलाई ५६ रनले पराजित गर्यो । टस जितेर पहिले व्याटिङ गरेको राप्तीले २० ओभरमा ६ विकेट गुमाउँदै १७२ रन बनाएको थियो ।

राप्तीका लागि भिम सार्कीले २६ बलमा ४९ रन, हरिबहादुर चौहानले ३५ बलमा ४३ रन बनाए । भरतपुरका लागि संघर्ष पौडेलले ३ र प्रतिस जिसिले २ विकेट लिए ।

१७३ रनको लक्ष्य पक्षाएको भरतपुरले २० ओभरमा ९ विकेट गुमाउँदै ११६ रन मात्रै बनाउन सक्यो । भरतपुरका लागि प्रतिक जिसीले ३९ रन, सनद बुढाथोकिले २१ रन लिए ।

राप्तीका लागि कप्तान आकाश थापाले ३ विकेट र रोमन गिरीले २ विकेट लिन सफल भए । प्रतियोगिताको म्यान अफ दि म्याच राप्तीका आकाश थापा भए ।

यस्तै आजै सम्पन्न पहिलो खेलमा इच्छाकामना वारीयर्सले माडी टाइगर्सलाई ४ विकेटले पराजित गरेको छ ।

टस जितेर इच्छाकामनाले फिल्ड रोजेपछि व्याटिङमा उत्रिएको माडी टाइगर्स २० ओभरमा ७ विकेट गुमाउँदै ९९ रन मात्रै बनाउन सक्यो । माडीका लागि सुरज चापागाँईले ४३ रन, कृष्ण कार्कीले १४ रन जोड्न सफल भए । माडीका सुरज लामाले २ विकेट लिए ।

१ सय रनको लक्ष्य पक्षाएको इच्छाकामनाका लागि लोकेश बमले २०, खिम मल्लले २४ र अमरसिंह रौटेलाले २३ रन बनाए । माडीका लागि राजकुमार शाहाले ३ विकेट लिए । प्रतियोगितामा इच्छाकामनाका दिपेश श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए ।

इच्छाकामना दीपेश श्रेष्ठ तथा माडी किशोर महत्तोको कप्तानीमा मैदानमा उत्रिएको हो भने राप्ती आकाश थापा तथा भरतपुर संघर्ष पौडेलको कप्तानीमा मैदानमा उत्रिएको हो ।

प्रतियोगिता अन्तर्गत भोली पनि दुई खेल हुने आयोजक नारायणी एड्भर्टाइजिङ एण्ड इभेन्ट्सका प्रवन्ध निर्देशक राजु चौधरीले जानकारी दिए ।

२५ गतेसम्म चल्ने प्रतियोगितामा चितवनका ५ टिमहरु भरतपुर गुर्खाज, सौराहा स्याण्ड्स , राप्ती र्‍यापिडस,माडी टाइगर्स र इच्छाकामना वारियर्सको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले रु दुई लाखसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले रु एक लाखमा चित्त बुझाउनेछ ।

यस्तै विभिन्न बिधामा उत्कृष्ट हुने खेलाडीहरुले पनि पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट अलराउण्डरले पनि पुरस्कार प्राप्त गर्नेछन् ।

यस्तै हरेक दिनको म्यान अफदि म्याचले ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई नेपालकै सबैभन्दा ठूलो व्यवसायिक लिग एभरेष्ट प्रिमियर लिग (इपीएल)को टिम चितवन टाइगर्सबाट खेल्न पाउनेछ ।

प्रतिक्रिया
सम्बन्धित