मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

घोराही महोत्सवमा उर्लियो जनसागर, दर्शक बढी भएपछि टिकट बन्द गरियो

दैनिक नेपाल २०७६ माघ १८ गते २१:०९


घोराही, १८ माघ । दाङ चेम्बर अफ कमर्सको आयोजनामा माघ १० देखि घोराहीमा सुरु भएको ‘नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रवर्द्धन व्यापारिक एवं कृषि औद्योगिक महोत्सव–२०७६’ को नवौं दिन दर्शकहरुको अत्याधिक भीड लागेको छ ।

महोत्सवमा अहिलेसम्मकै सबैभन्दा बढी दर्शक शनिवार आएको चेम्वर अफ कमर्स दाङका कोषाध्यक्ष एवम् अर्थ समिति संयोजक विकास अग्रवालले जानकारी दिए ।

‘जनसार धेरै भएपछि हामीले व्यवस्थापन गर्न निकै हम्मेहम्मे पर्यो,’ उनले भने, ‘करीब आधा घण्टा जति टिकट बिक्री रोकेर दर्शकहरुको व्यवस्थापन गर्नतर्फ लाग्यौँ ।’

महोत्सवमा अत्याधिक दर्शक बढेपछि बैकल्पिक बाटोबाट बाहिरिने व्यवस्था समेत गरिएको थियो । ‘अहिलेसम्म जुन बाटोबाट दर्शकहरु महोत्सवको मञ्चसम्म गए ।

त्यहीँ बाटोबाट निस्कने व्यवस्था गरेका थियौँ,’ चेम्बरका महासचिव टिकादत्त खनाल ‘सागर’ ले भने, ‘शनिवार भने हामीले बाहिरिँदा धेरै भीड हुने देखेर अर्को बैकल्पिक बाटोको पनि व्यवस्था गरेका थियौँ ।’

पछिल्ला दिनहरु दर्शकहरुको संख्या बढिरहेकाले आँफूहरु निकै उत्साहित भएको चेम्वर अफ कमर्स दाङका अध्यक्ष श्रीधर महराले बताए ।

‘महोत्सव हामीले सोँचेको भन्दा भव्य र सभ्य तरिकाले सम्पन्न हुने देखिएको छ,’ उनले भने, ‘हाम्रो पहिलो अनुभव भए पनि महोत्सव निकै उत्साहपूर्वक सम्पन्न हुने देखिएको छ ।’

महोत्सवमा दुर्गेस थापाले गित गाउँदा युवाहरुले निकै हुटिङ गरेका थिए । बाल कलाकारहरु कमला घिमिरे र प्रिन्स लम्सालको दोहोरीको घम्साघम्सीमा दर्शकहरु छमछमी नाचेका थिए ।

महोत्सव अन्य दिनको तुलना निकै भव्य पूर्वक सम्पन्न भएको उपाध्यक्ष घनश्याम अधिकारीले जानकारी दिए ।

महोत्सवमा लोकप्रिय गायिका देवकाला बस्नेत, ढाकाराम पौडेल, दीक्षा सुनारको बबाल दोहोरीले दर्शकहरु छमछमी नाचेका थिए । महोत्सवमा कृषीको स्टलमा रहेका च्याउँ किन्नेहरुको संख्या बढिरहेको अर्का उपाध्यक्ष बलदेव योगीले जानकारी दिए ।

शनिबार ११ जनाले गरे रक्तदान

शनिबार महोत्सव स्थलमा ११ जनाले रक्तदान गर्नुभएको छ ।

महोत्सवको स्टल नंको २११ मा राखिएको स्टलमा रञ्जिता राणा, उर्मिला हउजाली, बसन्ता शर्मा, हिरा पौडेल, सानु नेपाली, गु्ररुप्रासाद लम्साल, जनक कुमार विक, गोविन्द बस्याल, जीवन बस्याल, तेजमणी श्रेष्ठले रक्तदान गरेको कार्य समिति सदस्य एवम् प्राथमिकत स्वास्थ्य उपचार उपसमिति संयोजक सुशिला पौडेलले जानकारी दिइन् ।

उनले रक्तदान गर्न चाहने रक्तदाताहरुलाई स्टल नं २११ मा सम्पर्क गर्न आग्रह समेत गरिन् ।

आइतवार पशुपती शर्मा आउने

आइतबार महोत्सवमा कमला गाउँले, पशुपती शर्मा, भुमिका गिरी लगायत अन्य चर्चित गायक तथा कलाकारहरु आउने कार्यक्रम रहेको प्रचारप्रसार समितिका संयोजक एवम् चेम्वरका सचिव कुमारराज श्रेष्ठले जानकारी दिए ।

आइतबार दोहोरी गित प्रतियोगिताको फाइनल राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित