शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

घोराही महोत्सवमा जीवन शर्माको उद्घोष : भारतीय सेनाहरु कालापानी छोड !

दैनिक नेपाल २०७६ माघ १७ गते १९:०३


घोराही, १७ माघ । दाङ चेम्बर अफ कमर्सको आयोजनामा माघ १० देखि घोराहीमा सुरु भएको ‘नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रवद्र्धन व्यापारिक एवं कृषि औद्योगिक महोत्सव–२०७६’ को आठौँ दिन शुक्रबार जनवादी गायक जीवन शर्माले दर्शकहरुलाई छमछमी नचाएका छन् ।

उनको गितमा वृद्धवृद्धा देखि युवाहरु छमछमी नाचेका थिए । शर्माले राष्ट्रप्रेमी गित ‘छोड छोड विस्तारवाद नेपाल भूमी छोड, भारतीय सेनाहरु कालापानी छोड १’ बोलको गीत गाउँदा दर्शकहरुले पनि सँगसँगै गीत गाएका थिए । उनीहरुबीच बीचमा भारतीय सेनाहरु कालापानी छोड भन्दै हुटिङ गरेका थिए ।

शर्माले वृद्धहरुलाई लक्षित गरी ‘सिमली छाँयामा बसी बरिया लामो सास फेरेको, उमेर भयो ८० झन् ठूला दुःख ले घेरेको’ बोलको गित गाउँदा धेरै वृद्धवृद्धाहरु मञ्चमै पुगेर नाचेका थिए । गित सुनेर धेरैको आँखा रसाएको थियो ।

शर्माले ‘परेदेशी तिमी फर्केर आउँ है’ र ‘मधेशी, पहाडी, हिमाली बराबरी’ बोलको गित गाएका थिए । शुक्रबार तिलक वली, ढाकाराम पौडेल, रोशन रत्गैयाँ, सुनिता दहित, दिक्षा सुनार लगायतका कालाकारहरुले आफ्नो प्रस्तुती देखाएका थिए । महोत्सवमा स्थानीय थारु समुदायको परम्परागत नृत्य पनि प्रस्तुत गरिएको थियो ।

शनिवार कमला घिमिरे र दुर्गेस थापा आउने

दाङ चेम्बर अफ कमर्सको आयोजनामा माघ १० देखि घोराहीमा शुरु भएको ‘नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रवर्द्धन व्यापारिक एवं कृषि औद्योगिक महोत्सव–२०७६’ को नवौं दिन शनिवार महोत्सवमा अहिलेकी चर्चित गायिका बाल कलाकार कमला घिमिरे र युवा पुस्तका लोकप्रिय गायक दुर्गेस थापा आउने भएका छन् ।

बाल कलाकार प्रिन्स लम्साल र कमला घिमिरेबीच घम्साघम्सी दोहोरी हुने महोत्सव प्रचार प्रसार समितिका संयोजक कुमार राज श्रेष्ठले जानकारी दिए ।

शुरुका दिनहरुको तुलनामा पछिल्ला दिनहरुमा दर्शकहरुको संख्या बढी रहेको चेम्वर अफ कमर्स दाङका अध्यक्ष श्रीधर महराले जानकारी दिए ।

महोत्सवमा ५ जनाले गरे रक्तदान

महोत्सवमा शुक्रबार पाँच जना दर्शकहरुले रक्तदान गरेका छन् ।

घोराही १७ निवासी सिता भण्डारी, तुलसीपुर ५ का रमेश नेपाली, रुकुमकी हिरा पुन मगर, घोराही १३ की रेखा पुन मगर र घोराही १५ दिन खिमा पुन मगररले रक्तदान गरेको चेम्वर दाङकी कार्यसमिति सदस्य एवम् महोत्सव प्राथमिक स्वास्थ्य उपसमितिकी संयोजक सुशिला पौडेलले जानकारी दिए ।

उनले महोत्सवमा प्राथमिक उपचार आवश्यक भएमा स्टल नं २११ मा सम्पर्क गर्न आग्रह समेत गरे ।

प्रतिक्रिया
सम्बन्धित