
चन्द्रौटा, १६ माघ । श्रीपञ्चमीको शुभ साइत पारेर कपिलवस्तुको शिवराज नगरपालिका भवन शिलन्यास गरिएको छ । शिवराज ५ दक्षिण रहटकोल गाउँको उत्तरपट्टि रहेको सार्वजनिक जग्गामा निर्माण हुन लागेको भवन नगरप्रमुख नेत्रराज अधिकारीले शिलन्यास गरेका हुन् ।
भवन शिलन्यास गर्दै नगरप्रमुख अधिकारीले आम नागरिकहरुलाई सहज रुपमा पहुँच सेवा प्रवाह होस् भन्ने उद्देश्यका साथ भवन निर्माण कार्य सुरु गरिएको बताए ।
वर्षअघि कैलाश एण्ड कम्पनीसँग भवन निर्माण ठेक्का सम्झौता भएपनि केही व्यक्तिले व्यक्तिगत स्वार्थका लागि अदालतमा मुद्धा दायर गरेपछि भवन निर्माण कार्य सुचारु हुन सकेको थिएन ।
सर्वोच्चले समेत भवन निर्माणका लागि फुकुवा गरेपछि भवन निर्माण कार्यलाई अघि बढाइएको नगरप्रमुख अधिकारीले बताए । “अब भवन निर्माण कार्य तीब्र गतिमा अघि बढ्छ”– उनले भने ।
विकासको काम अघि बढेको भन्दै भवन निर्माण पश्चात स्थानीयलाई सहज हुने नगरप्रमुख अधिकारीले विश्वास व्यक्त गरे । भवनलाई आकर्षक र मजबुत बनाउने योजना अनुरुप नगरपालिकाले विभिन्न समयमा अनुगमन गरिने अधिकारीले जनाए ।
अहिले भाडामा रहेको कार्यालयबाट सेवा प्रदान गर्न समस्या भइरहेको र कर्मचारीहरुको बसाईंमा समेत समस्या रहेको उनले बताए । “हामी नगरपालिकाका विभिन्न वडा कार्यालयको समेत भवन निर्माण गरिरहेका छौँ नगरको भवन बन्दासम्म सवै वडाको भवन पनि निर्माण हुनेछ” –नगरप्रमुख अधिकारीले भने ।
शिवराज नगर कार्यपालिका निर्णयानुसार स्थान छनोट गरी भवन निर्माणको काम सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले बताए । पौडेलले भने– “विभिन्न समस्याले निश्चित समय भन्दा पछि काम सञ्चालन भए पनि अब भने काम रोकिने छैन ।”
११ करोडको लागतमा निर्माण हुन लागेको भवन दुई वर्षमा सम्पन्न हुने बताइएको छ । भवन शिलन्यास कार्यक्रममा शिवराज नगर उपप्रमुख शिवकुमारी थारु, स्थानीय राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि, कर्मचारी, सञ्चारकर्मीको सहभागिता रहेको थियो ।















प्रतिक्रिया