बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

लुम्बिनी विकास कोषले रद्द गर्‍यो विलासी गाडी खरिद प्रक्रिया

प्रतिक पौडेल २०७६ माघ १५ गते १४:४३

-प्रतिक पौडेल

भैरहवा, १५ माघ । लुम्विनी विकास कोषले विलासी गाडी खरिद प्रक्रिया रद्ध गरेको छ । कोषको उपाध्यक्षको अध्यक्षतामा बसेको बैठकले प्रक्रिया रद्द गर्ने निर्णय गरेको हो ।

दैनिक नेपाल डट कममा मंगलबार दिउँसो आएको समाचारका साथै देशका विभिन्न संचार माध्यममा आएको समाचारको प्रभावका कारण कोषले बैठक बसेर विलासी गाडी खरिद प्रक्रिया रद्द गरेको हो ।

यस्तै विलासी गाडी खरिद प्रक्रियाको बिरोध गर्दै कोषको विरुद्ध मन्त्रालयमा पत्रचार गरेका कोषको परिषद सदस्य बैजनाथ शाहनीले कोषको निर्णयको स्वागत गरेका छन् । शाहनीका अनुसार कोषले गाडी खरिद गर्ने निर्णय फिर्ता गरेर ठीक गरेको छ ।

कोषले करिब १ करोड ५८ लाख मूल्य बराबरको गाडी खरिद गर्न लाग्दा विवादमा आएको हो । करोडौँ मुल्यको गाडी खरिद गर्नुभन्दा लुम्बिनीको विकासमै लगानी गरौँ भन्ने माग कोष भित्रकै अधिकांश सदस्यहरुको रहेको थियो ।

कोषले गाडी खरिदका लागि गत मंसिर १५ गते पत्रिकामा सूचना प्रकाशन गरेको थियो । कोषले टिकट बिक्री, श्रद्धालुले गर्ने दान र चन्दाबाट संकलन भएको रकमले विलासी गाडी खरिद गर्न खोजेको हो ।

सहानीले पत्राचार गरेपछि माघ ६ गते संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको सचिवस्तरको निर्णयबाट अनियमितता छानबिन गर्न मन्त्रालयका उपसचिव राजन नेपालको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन भएको थियो ।

सहानीले कोषमा व्यापक आर्थिक अनियमितता भएको भन्दै विभागीय मन्त्री योगेश भट्टराईलाई पत्र लेखेर उजुरी गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित