बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

‘मैले कोरोना भाइरसलाई धक्का भनें, कसले कसरी बुझ्यो ?’

दैनिक नेपाल २०७६ माघ १५ गते १२:२४

काठमाडौं, १५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमण बर्ष सुरु भएको सन्दर्भमा चीनबाट फैलिएको कोरोना भाइरसको प्रभावलाई आफूले ‘धक्का’ भनेको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकको बुधबार राष्ट्रिय सभा गृहमा उद्घाटन गर्दै भने,‘मैले त्यसरी भनें, कसले कसरी बुझ्यो । कहाँबाट धक्का, कसले धक्का दिने भन्नेसम्मको चर्चा भयो ।’

मंगलबार भएको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीको उक्त भनाईबारे प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कसले धक्का दिने ? धक्का भन्ने पहिलो पटक सुन्दैछु भनी प्रश्न गरेका थिए ।

उनले आफ्ना कारणले केन्द्रीय कमिटीको बैठक बिलम्ब नभएको बताए । ‘अधिक क्रान्तिकारी भएर पनि होइन, शालिनताका साथ संगठनका आधारमा नै चल्नुपर्छ’, प्रधानमन्त्री ओलीले भने,‘यसमा साथीहरूले ध्यानका साथ अघि बढ्नुपर्छ ।’

सरकारले राम्रो काम गरेका कारण विश्वका सबै सूचकमा नेपाल नेगेटिभ नभएको बताएका उनले विश्व बैंकले नेपालको व्यावसायीक क्षेत्रमा नेपालको अवस्था राम्रो रहेको बताए । ११० स्थानमा रहेको नेपालको अवस्था ९४ औं स्थानमा आएको ओलीले सुनाए ।

मानव विकास सूचकांकमा नेपाल १४९ बाट १४७ औं, भोकमरीको सूचांकमा नेपालको अवस्था ७३ औं स्थानमा रहेको पनि उनले बताए । शान्ति सुव्यवस्थाको अवस्थामा रहेकोलगायतका विवरण पनि प्रधानमन्त्रीले सुनाए ।

उक्त बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् । बैठक एक सातासम्म चल्ने जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित