शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

कटवाल कारबाही उल्ट्याउन ओली र भण्डारी लिएर शितलनिवास पुगेका थिए पौडेल

प्रचण्डको तत्कालिन प्रधानसेनापति कटवाल कारबाही निर्णय उल्ट्याउनु पूर्व राष्ट्रपति रामवरण यादव थुरथुर थिए

दैनिक नेपाल २०७६ माघ १५ गते ११:४१

काठमाडौं, १५ माघ । रुक्माङ्गत कटवाललाई प्रधानसेनापति पदबाट हटाउने तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्णय उल्ट्याउन हालका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी लिएर शितलनिवास पुगेको नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले खुलासा गरेका छन् ।

मंगलबार थापागाउँमा भएको एउटा कार्यक्रममा उक्त सन्दर्भ उल्लेख गर्दै उनले कम्युनिस्टले कम्युनिस्टको टाउको काटेको छ, यो निर्णय उल्ट्याउनुपर्छ भनी एमालेलाई भनेको स्मरण गरेको विवरण सार्वजनिक भएको छ ।

‘म कांग्रेस संसदीय दलको नेता थिएँ । एमालेलाई विश्वासमा लिएपछि शितलनिवास पुगेको थिएँ । राष्ट्रपति रामवरण यादव थुरथुर थिए । बहुमत हामीसँग छ, तपाई परमाधिपति हो भनेपछि सचिव आए’, उनले स्मरण गरेका छन् ।

प्रचण्डले गरेको कारबाही तत्कालिन कांग्रेस सभापति गिरीजाप्रसाद कोइरालाले स्वीकार गरेको विषय उनले उल्लेख गरेको सतहमा आएका छन् । ‘सुजाता कोइरालाले खुमबहादुर खड्का, रुक्माङ्गत कटवाल हामीलाई के मतलब भनेकी थिइन्, गिरीजाबाबु मानिसक्नुभएको थियो’, उनले कार्यक्रममा भनेको उल्लेख छ ।

झलनाथ खनाल कारबाहीमा सहमति गरी चीन गएको, उपेन्द्र यादवले स्वीकार गरेको सन्दर्भ उल्लेख गर्दै पौडेलले प्रचण्डलाई ‘ए तपाई भर्खर जंगलबाट आएको मान्छेले सेना चलाउने ? यो पाइँदैन’ भनेको विवरण सार्वजनिक भएको हो ।

प्रतिक्रिया
सम्बन्धित