शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

आईजी खनालको नेतृत्वमा अन्तर्राष्ट्रिय अध्ययन प्रतिवेदनमा यसरी उक्लियो नेपाल प्रहरी

दैनिक नेपाल २०७६ माघ १५ गते १०:५५

काठमाडौं, १५ माघ । विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थाका अध्ययनमा नेपाल प्रहरी विभिन्न विधामा सन् २०१८ को तुलनामा उक्लिएको प्रतिवेदन र विवरण सार्वजनिक भएका छन् ।

प्रहरी महानिरिक्षक (आईजी) सर्वेन्द्र खनालको कार्यकालका क्रममा नेपाल प्रहरीको अन्तर्राष्ट्रिय छवि पहिलेको भन्दा निकै सुधार आएको ति विवरणको परिणामले खुलाएको हो ।

शान्ति सुरक्षा, कानुनी शासनका सम्बन्धमा अध्ययन, मुल्यांकनका हिसाबमा विश्वका सय भन्दा बढी मुलुकको तुलनामा नेपाल निक्कै माथि उक्लिएको हो ।

अस्ट्रेलियास्थित ‘इन्सिट्च्युट फर इकोनोमी एन्ड पिस’ले विश्वको कुल जनसंख्याको ९७ प्रतिशत समेटिनेगरी एक सय ६३ वटा मुलुकमा गरेको अध्ययन प्रतिवेदन ‘ग्लोबल पिस इन्डेक्स २०१९’मा नेपाल प्रहरीको स्थान ७६औंमा छ । आईजी खनालले नेतृत्व सम्हालेपछि १२ स्थान माथि नेपाल प्रहरी उक्लिएको हो । २०१८ को प्रतिवेदनमा ८८ औं स्थानमा थियो ।

दक्षिण एसीयाको हकमा पनि यहि प्रतिवेदनका आधारमा नेपाल प्रहरीको कार्यकौशलताका कारण तेस्रो स्थानमा छ । पहिलोमा भुटान, दोस्रो श्रीलंका रहेको छ ।

‘हरेक बर्ष हुने यस्ता अध्ययनले नेपाल प्रहरीको कामको नतिजा मापन हुन्छ । यो श्रेय स्वतन्त्र हिसाबले नै प्रहरीको नेतृत्व गर्ने प्रमुखलाई जान्छ’, एक पूर्व एआईजी भन्छन् ।

यस्तै, संयुक्त राज्य अमेरिकाको राजधानी वासिङटन डिसीस्थित ‘वर्ल्ड जस्टिस प्रोजेक्ट’ले शोध गरेको ‘रुल अफ ल इन्डेक्स २०१९’मा पनि नेपाल प्रहरीको सुधार देखिएको छ । ५९ औं स्थानमा रहेको प्रहरी अघिल्लो बर्षको तुलनामा २ स्थान माथि उक्लिएको हो । अघिल्लो अध्ययन प्रतिवेदनमा ६१ औं स्थानमा थियो ।

दक्षिण एसीयामा भने नेपाल भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानभन्दा माथि रहेको छ ।

‘नेपाल प्रहरी अब्बल छ भन्ने परिणाम हो यो । अझ सुधार गर्न सकिन्छ । तर त्यसका लागि सबल र संगठन चलाउन सक्ने कुशल नेतृत्व चाहिन्छ’, ति पूर्वएआइजी भन्छन्,‘कामको परिणामले नै हो यसरी प्रतिवेदनमा सुधार हासिल गर्ने ।’

आईजी खनालको नेतृत्वको कार्यकालमा यति मात्र सुधार भएका छैनन् । एसियन डेभलपमेन्ट बैंकले सन् २०१९ मा गरेको अध्ययनअनुसार नेपालमा महिला तथा बालबालिकाविरुद्ध हुने अपराधहरूको उजुरी ३६ प्रतिशतले बृद्धि भएको छ ।

‘यसलाई अपराध बढ्यो भन्ने होइन, प्रहरीमा जाँदा न्यायको बाटो समात्न सकिन्छ भन्ने आत्मविश्वास बढेको आधारमा व्याख्या गरिएको छ’, प्रहरी अधिकारीहरू भन्छन् । उक्त बैंकको अध्ययन प्रतिवेदनमा भनिएको छ,‘नेपाल प्रहरीको कामका कारण ६४ प्रतिशत मानिसहरू निर्धक्क थाना, चौकी जाने गरेका छन् । ६५ प्रतिशत मानिसले प्रहरीको काममा सन्तुष्टि व्यक्त गरेका छन् ।’ यसलाई खनाल कार्यकालको उपलब्धी र प्रहरीमाथि बढेको विश्वासको आधार बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित