बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

प्रहरी अधिकारीका यौनकाण्ड : डिएसपीको राजीनामा, एसएसपीको अनुसन्धान भएन

दैनिक नेपाल २०७६ माघ १४ गते ९:३३

सांकेतिक तस्बिर इन्टरनेटबाट लिइएको हो

काठमाडौं, १४ माघ । नेपाल प्रहरीका अधिकृतका यौनकाण्डका विवरण सतहमा आउन थालेका छन् । परिबन्धमा पारेर केही युवतीलाई महिनौसम्म यौन शोषण गरेको, प्रहरी महिला कर्मचारीहरूसँग यौन सम्बन्ध कायम गरेको उजुरी प्रहरी प्रधान कार्यालयमा पर्नु यसका प्रमाण हुन् ।

तर त्यस्ता अधिकारीमाथि प्रहरीको छानबिन गर्ने उजुरी शाखाले कारबाही अगाडि नबढाउनुलाई आश्चर्यका रुपमा हेरिएको छ । प्रहरी महानिरिक्षक (आईजी) सर्वेन्द्र खनालले महिलामाथि हुने हिंसामा कुनै पनि छुट नहुने बताइरहेका बेला संगठनभित्र नै ६ महिना, डेढ बर्षअघि भएका यस्ता उजुरीमाथि गम्भिर अनुसन्धान नभएको आरोप लाग्न थालेको छ ।

कतिपय प्रहरी अधिकारीको भने यौन सम्बन्ध स्थापित गर्नका लागि गरिएका प्रस्ताव, संवादलगायतका अडियो प्रमाण समेत बाहिरिसकेको अवस्थामा सस्पेन्समा राखेर अनुसन्धानको प्रक्रिया समेत अगाडि बढाइएको छैन । यस्ता प्रकरणमा जिम्मेवार अधिकारीले पनि उचित र न्यायीक प्रतिक्रिया नदिएको पीडितले गुनासो गर्न थालेका छन् ।

नेपाल प्रहरीमा यौन दुव्र्यवहार गरेको आरोपमा एक डिएसपीले करिब डेढ महिना अघि सेवा अवधि नपुगी राजीनामा दिएको बताइएको छ । जिल्ला प्रहरी मोरङमा कार्यरत रहेका डिएसपीले आफ्नो सेवा अवधि दुई बर्ष बाँकी हुँदा नै राजीनामा दिएका हुन् ।

गत बर्ष महानगरीय प्रहरी चापागाउँमा कार्यरत रहेका डिएसपी राजकुमार खिउजुलाई यौन दुव्र्यवहारको आरोप लागेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको विवरण विभिन्न मिडियाले सार्वजनिक गरेका छन् ।

२३ वर्षे युवतीले आफूलाई ६ महिना यौन शोषण गरेको आरोपसहित प्रहरी प्रधान कार्यालय उजुरी छानवीन शाखामा मुद्धा हालेपछि जागिर छाडेर सम्पर्कविहीन भएको बताइएको छ ।

अभियोग लागेका एसएसपी सिंह

प्रहरी प्रधान कार्यालयमा रहेको उजुरी छानवीन समितिले भने उनको फाइल लुकाएको छ । प्रहरी नायव महानीरिक्षक (डिआइजी) मनोज न्यौपानेको टेबुलबाटै सो फाइल हराएको बताइएको छ ।

चापागाउँ प्रहरी प्रमुख हुँदा ती किशोरी विदेश जानका लागि प्रहरी रिपार्ट बनाउन भन्दै डिएसपीको सम्पर्कमा पुगेकी थिइन् । प्रहरी रिपोर्ट चापागाउँ प्रहरीमा नबन्ने भएकाले उनलाई जावलाखेल प्रहरी परिसर लगिदिने बहानमा कोठामा पुर्याइ बलात्कार गरेको उजुरीमा उल्लेख थियो ।

‘निरन्तर छ महिनासम्म यौन शोषण गर्दा ति युवतीले किन उजुरी दिइनन् भन्ने प्रश्न पनि उठ्छ । तर, कसैलाई ललाई फकाई वा प्रलोभनमा यौन शोषण गरे पनि त्यसलाई बलात्कारमा राखेर हेर्न सकिने कानुनी प्रावधान हुन्छ’, कानुनविज्ञ भन्छन् ।

महानगरीय प्रहरी परिसरमा उजुरी दिन गएकी ती युवतीलाई त्यहाँका एक डिएसपीले त्यतिकै फर्काएका थिए । पछि प्रहरी प्रधान कार्यालयमा पुगेर उजुरी दिएकी थिइन् । त्यसपछि खिउजु दम्पत्तीले ती किशोरीलाई भेटेर माफी माग्दै जे भन्यो त्यही गरिदिने आश्वसन दिए पनि किशोरीले मुद्धा फिर्ता नलिने बताएकी थिइन् ।

प्रहरी स्रोतका अनुसार हाल डिएसपी खिउजुलाई मिलाउन भनेर ललितपुर नेकपाका केही युवा नेताहरू अग्रसर भएका छन् तर खिउजु नै सम्पर्क विहिन भएकाले त्यो मुद्धा त्यतिकै प्रहरी प्रधान कार्यालयमा अलपत्र परेको छ ।

उता, हालै मात्र प्रहरीको विधि विज्ञान प्रयोगशालाका प्रमुख एसएसपी राकेश सिंहले पनि यौन शोषण गरेको भन्दै तीन जना महिला प्रहरी कर्मचारीले उजुरी दिएको चर्चामा छ । उक्त विषयमा पनि छानबिन हुन सकेको छैन ।

डेढ बर्षअघि देखिको उक्त उजुरी प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयको कार्यालयबाट गृह मन्त्रालय हुँदै प्रहरी प्रधान कार्यालयसम्म पुगेको बताइन्छ । तर, उक्त विषयमा पनि मिहिन ढंगले छानबिन नगरिएको दाबी गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित