शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

बालबालिकालाई धेरै कुराहरू व्यवहारबाट सिकाउन सकिन्छः भट्टराई

दैनिक नेपाल २०७६ माघ १३ गते ६:५४

भक्तपुर, १३ माघ । शिक्षाविद् अञ्जु भट्टराईले बालबालिकालाई किताबबाट मात्र ज्ञान लिन सक्छन् भन्ने भ्रम पाल्न नहुने बताएकी छिन् ।

किताबबाट सिक्न नसक्ने कैयौं कुरा व्यवहारबाट हुने भन्दै पूर्व प्राथमिक विद्यालयहरूले यो कुरालाई मध्यनजर राख्न सुझाव समेत दिए ।

‘३–४ वर्षका बच्चाले यति कुरा सुनि र देखिसकेका हुन्छन् कि १८ वर्षका उमेर समूहले पनि त्यो ख्याल नगरेको हुन सक्छ’, भक्तपुरको नयाँठिमी, बालकोटस्थित जुरिच किण्डरगार्टेनमा शनिबार आयोजित कार्यक्रमकी प्रमुख वक्ता भट्टराईले भनिन्, ‘ती बच्चालाई किताबबाट सिकाउन खोज्ने नै होइन ।’

विभिन्न कला प्रदर्शन, खेलमार्फत आफै सहभागी गराएर त्यस्तो ज्ञान दिलाउनुपर्नेमा उनको जोड थियो ।

जुरिच किण्डरगार्टेनले शिक्षाका पछिल्ला अवधारणा अनुसारै विद्यार्थीलाई सिकाउँदै आएको आफूले पाएको उनले बताइन् ।

‘म आफै यहाँ आएको छु । शिक्षक र विद्यार्थीसँग बसी पढ्ने, पढाउने तरिका हेरेको छु’, भट्टराईले भनिन्, ‘जुरिचका विद्यार्थी खुशी भएर ज्ञानज्ञुनका कुरा सिकेको पाएँ, उहाँले भन्नुभयो, यही कारणले होला जुरिच नमुना बनेको छ ।’
काठमाडौं, काँडाघारीस्थित अक्षरा स्कुलकी संस्थापक एवं प्रिन्सिपल समेत रहेकी भट्टराईले बालबालिकालाई खुशी राख्न अविभावकले सिक्नुपर्ने कैयौं कुरा रहेकोले यस्ता कार्यक्रमहरू अर्थपूर्ण हुने बताइन् ।

साना बच्चाले १३ प्रतिशतमात्र ज्ञानज्ञुनका कुरा स्कुलमा सिक्ने र बाँकी घरबाटै सिक्ने भएकाले स्कुल र अविभावकबीच बारम्बार अन्तक्र्रिया भइरहनुपर्ने अनुभव उनको थियो ।

स्टोरी टेलीङ्गमार्फत बच्चाले धेरै ज्ञान सिक्ने भएकाले शिक्षक र अविभावकले यसतर्फ पनि विशेष ध्यान दिन उनले आग्रह गरिन् ।

जुरिच स्कुलको प्रांगणमा बृहद अविभावक भेला एवं सांस्कृतिक कार्यक्रम राखिएको थियो । कार्यक्रममा प्रमुख अतिथि बरिष्ठ कलाकार मदनदाश श्रेष्ठ, स्कुलका व्यवस्थापन समितिका अध्यक्ष शान्तबहादुर बस्नेत, बम्हनगर टोल सुधार समितिका सचिव दामोदर भट्टराई, समितिकै मीना कार्की, जुरिचका संस्थापक अमृत राउतसहितले शुभकामना दिएका थिए ।

कार्यक्रममा जुरिचका संगीत प्रशिक्षक एवं चर्चिय युवा गायक पवन गिरीले विभिन्न गीत प्रस्तुत गरेका थिए । विभिन्न तहमा अध्ययनरत जुरिचका विद्यार्थीले नृत्य र योगाका प्रस्तुति राखेका थिए ।

कार्यक्रमको अन्तमा स्कुलमा सम्पन्न विभिन्न खेलकुद प्रतियोगिताका विजेतालाई पदक र प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित