धनगढी, १२ माघ । सुदूरपश्चिम प्रदेशमा आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ। तीन आर्थिक वर्षको तथ्यांक हेर्दा आत्महत्या गर्नेको संख्या बढिरहेको छ। सुदूरपश्चिममा औसतमा प्रत्येक तीन दिनमा चारजनाले आत्महत्या गरेको तथ्यांक छ। गरिबी, पारिवारिक र सामाजिक सम्बन्धमा उतारचढाव तथा मानसिक समस्याका कारण आवेगमा आई आत्महत्या गर्ने बढ्दै गएको विश्लेषण गरिएको छ।
कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक डा. हेमराज पन्त आत्महत्या चिन्ताजनक ढंगले बढ्नुमा आर्थिक र सामाजिक कारणलाई मुख्य ठान्छन्। ‘गरिबीलगायत कारणले युवा डिप्रेसनमा जान्छन। निरासाका कारण आत्महत्या गर्ने बढ्दै गएका हुन्,’ उनी भन्छन्, ‘बढ्दो आत्महत्या सामाजिक समस्या हो।’ आत्महत्या कम गर्न विद्यालय तहदेखि नै मनोपरामर्श दिइनुपर्ने उनको भनाइ छ। सञ्चारलगायत प्रविधिको पहुँचले सबै जानकारी हुने तर गरिबीले आवश्यकता पूरा गर्न समस्या हुँदा मानिसमा निरासा बढेको उनी बताउँछन।
नागरिक समाजका अगुवा धर्मराज पाठक पनि कैलालीमा आत्महत्या दर बढ्दै गएको बताउँछन्। उनी आत्महत्या बढ्नुको भित्री कारण मानसिक समस्या ठान्छन्। ‘गरिबी, पारिवारिक र सामाजिक सम्बन्ध पनि आत्महत्याका कारण हुन्,’ उनले भने, ‘बाहिर पारिवारिक झैझगडा, ऋण तिर्न नसकेर वा अन्य कारण देखिए पनि भित्री कारण मानसिक समस्या भएर नै देखिन्छ।’ कुनै न कुनै रुपमा २५देखि ३० प्रतिशत मानिसमा मानसिक समस्या भएको अध्ययनले देखाएको उनले बताए। नागरिक दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया