४ कार्तिक २०८३, बुधबार

अर्जुन लामा हत्या आरोपी अग्नि सापकोटा साझा नेता

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ माघ । नेकपाले अग्नि सापकोटालाई सभामुख उम्मेदवार तय गरेपछि कांग्रेसदेखि अधिकारवादीले सर्वोच्चमा विराचाराधीन मुद्दाको प्रसंग उठाए। काभ्रेका अर्जुन लामाको हत्या आरोपी सापकोटालाई सभामुख प्रस्ताव गरेकोमा नेकपाप्रति असन्तुष्टि देखियो। ‘कुन पदमा कस्तो प्रवृत्ति ? छनोट उचित भएन भने पदको गरिमा त धरापमा पर्छ नै’, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विट गरे। यस्तोमा विपक्षी कांग्रेसले के गर्छ भन्ने चासो थियो। तर, कांग्रेसले सापकोटालाई साझा नेता बनाउन मैदान खाली गरेको छ।

प्रतिनिधिसभाको सभामुखमा मंगलबार सापकोटाको मात्र उम्मेदवारी परेपछि १२ गते बस्ने प्रतिनिधिसभा बैठकले निर्विरोध निर्वाचित घोषणा गर्नेछ। ‘संसद्को गरिमा र भूमिकाका कारण यसको नेता साझा बन्नुपर्छ भन्ने मान्यता कांग्रेसले राखेको हो’, कांग्रेस सचेतक पुष्पा भुसालले भनिन्, ‘सत्ताको नेतृत्व गर्ने पार्टी र प्रमुख विपक्षी मिलेर संसद्लाई प्रभावकारी र सशक्त बनाउनुपर्ने खाँचो छ।’ त्यसो त उम्मेदवारी दिए पनि संसद्को गणितले कांग्रेसले जित्ने अवस्था छैन। मधेस केन्द्रित राजपाको समेत समर्थन जुटाएपछि सत्तासीन नेकपाका उम्मेदवारका पक्षमा झण्डै दुई तिहाई बहुमत पुग्ने अवस्था छ।

विपक्षी दलको धर्म निर्वाह गर्न र आफ्नो असहमति जनाउन कांग्रेसले पनि सभामुखमा उम्मेदवारी दिनुपर्नेमा पार्टीभित्र माग थियो। तर पछिल्ला केही दिनमा संक्रमणकालीन न्याय सम्पादनमा शीर्ष नेतृत्वबीच भएको सहमति र उपसभामुखको ‘लोभ’ का कारण पनि कांग्रेसले उम्मेदवारी नदिएको कांग्रेसकै नेताहरू बताउँछन्। सचेतक भुसाल भने परिवर्तनलाई संस्थागत गर्न पनि सत्तापक्ष र विपक्षी मिल्नुपर्ने अवस्था रहेको र उपसभामुखबारे सत्तापक्षले नै सोच्नुपर्ने तर्क गर्छिन्।

त्यसो त कांग्रेसले निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध पनि उम्मेदवारी दिएको थिएन। महरा पनि निर्विरोध निर्वाचित भएका थिए। सापकोटालाई निर्विरोध बनाउन सत्तासीन नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मंगलबार बिहान कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँग प्रस्ताव गरेका थिए। दाहालले कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि यो विषयमा कुराकानी गरेका थिए।

संयोग नै मान्नुपर्छ, महरा र सापकोटाको उम्मेदवारीका समर्थक र प्रस्तावक एकै व्यक्ति छन्। महराको प्रस्तावकमा संसदीय दलका उपनेता सुवास नेम्वाङ थिए भने सापकोटाका प्रस्तावक पनि नेम्वाङ नै छन्। सापकोटालाई सभामुख बनाउनुपर्ने प्रस्तावको समर्थक प्रमुख सचेतक देव गुरुङ र पूर्व सभामुख ओनसरी घर्तीमगर छन्। राजपाका लक्ष्मणलाल कर्ण पनि उक्त प्रस्तावका समर्थक छन्। महरा सभामुख बन्दा नेकपाको एकता भइसकेको थिएन भने अहिले दुई दल एक भए पनि ‘भागबण्डा’ को राजनीति कायमै छ।

राष्ट्रियसभा निर्वाचनमा सत्तासीन नेकपासँग चुनावी तालमेल गरेको राजपाले समेत नेकपाका सापकोटालाई समर्थन जनाएको छ। नेकपा संसदीय दलका उपनेता नेम्वाङले राजपा नेता कर्णलाई फोन गरी समर्थन जनाउन आग्रह गरेका थिए। राजपाले पनि उपसभामुख पद आफूले पाउने आश नेकपासँग गरेको छ।

‘संसद्को नेतृत्व साझा हुनुपर्छ भन्ने मान्यता साथ समर्थन जनाएका हौं’, कर्णले भने, ‘अरु विषयमा छलफल भइरहेको छ।’ तर नेकपाका नेताहरू भने सभामुख निर्वाचनपछि मात्र उपसभामुखबारे छलफल हुने बताउँछन्। ‘सभामुख निर्वाचित भएपछि उपसभामुखको निर्वाचन प्रक्रिया अघि बढ्छ’ नेकपा संसदीय दलका उपनेता नेम्वाङले भने, ‘उपसभामुख कसलाई दिने भन्नेमा टुंगो लागेको छैन।’

नेकपाको झण्डै दुई तिहाई मत भएका बेला संसद्को नेतृत्व लिनु सापकोटाका लागि प्रमुख चुनौति हो। सत्तापक्षसँग स्पष्ट बहुमत भएका बेला सभामुखले निष्पक्ष र स्वतन्त्र भूमिका निर्वाह गर्न अप्ठ्यारो हुने जानकारहरू बताउँछन्। ‘जननिर्वाचित र सार्वभौम संस्थाको ओझ, गरिमा, मूल्य मान्यता उच्च बनाइराख्न भगिरथ प्रयत्न गर्नेछु’ उम्मेदवारी दर्तापछि सापकोटाले प्रतिवद्धता जनाए। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।