शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

मधेस आन्दोलनको तेह्र वर्ष: नेताकाे सत्तास्वार्थले अझै निस्केन मुद्दाको निकास

दैनिक नेपाल २०७६ माघ ४ गते ८:०२

जनकपुरधाम, ४ माघ । भनिन्छ, १२ वर्षमा खोला पनि फर्किन्छ। तर बलिदानीपूर्ण मधेस आन्दोलनले उठाएका मुद्दाको १३ वर्षमा पनि सम्बोधन हुन सकेको छैन। मधेस आन्दोलनको सिँढी चढेर नेताहरु सरकारमा पुग्ने प्रवृत्तिले मधेस समस्याको निकास अझै धकेलिएको छ।

अधिकार र पहिचानका मुद्दा उठाउँदै २०६३ सालयता मधेसले तीन चरणको आन्दोलन गरिसकेको छ। यस क्रममा ठूलो भौतिक र मानवीय क्षति भयो तर केही उपलब्धि पनि हासिल भए। मधेस विद्रोहको पहिलो दिन २०६३ माघ ५ मा लहानमा रमेश महतो मारिएका थिए।

बलिदानीपूर्ण संघर्ष यात्राबाट संघीयता व्यावहारिक रुपमै संस्थागत भएर मधेसी जनताको आँगनमा मधेस सरकार बनेको छ। प्रदेश २ मा मधेसकेन्द्रित समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) को गठबन्धन सरकार छ। समाजवादीबाट मोहम्मद लालबाबु राउत गद्दी मुख्यमन्त्री छन्।

उनको सरकारले सत्तामा पुगेको दोस्रो वर्षगाँठ मनाउँदैछ। मधेस आन्दोलनका दुइटा सपनामध्ये मधेसी अनुहार मधेसको शासक (मुख्यमन्त्री) बनेका छन्। आफ्नै मूलको नेतृत्व मधेसले पाइसकेको छ। मधेस आन्दोलनको जगमा प्रदेश २ मा निर्माण भएको सरकारले मधेसी जनतामा खुसी सञ्चार गर्न सक्नुपथ्र्यो, सकेको छैन।

सुशासन, सेवासुविधामा सुलभ पहुँचलगायत अपेक्षा जनताले सरकारसँग गरेका थिए। मधेसी सहिद परिवारको अपेक्षा पनि यो सरकारसँग उत्तिकै थियो। तर सरकार गठन भएको झन्डै दुई वर्षमा मधेसी जनता र सहिद परिवारमा निराशा, आक्रोश र घृणा बढेको छ।

मुद्दा उचालेर आन्दोलन गर्ने नेताले तिनै मुद्दालाई सत्तामा जाने भ-याङका रुपमा प्रयोग गर्दा मधेसी जनता र मधेसी नेताबीच दूरी बढ्दै गएको विश्लेषक बताउँछन्।

मुद्दा उचालेर आन्दोलन गर्ने नेताले तिनै मुद्दालाई सत्तामा जाने भ-याङका रुपमा प्रयोग गर्दा मधेसी जनता र मधेसी नेताबीच दूरी बढ्दै गएको विश्लेषक बताउँछन्।

‘सत्तासँग सम्झौता गरेर सरकारमा पुग्ने मधेसी नेताको प्रवृत्तिका कारण नेताको व्यवस्थापन त भयो तर मुद्दा ज्यूँका त्यूँ छ’, मधेस मामिलामा विद्यावारिधि गरेका राजेश अहिराज भन्छन्, ‘मधेसको घाउले मुद्दाको व्यवस्थापन नहुँदा बेलाबेला बल्झिँदै आन्दोलनको रुप लिँदै आएको छ।’

जनताको बलि दिएर सत्तामा पुग्ने प्रवृत्तिले मधेस समस्या बल्झिरहने घाउको रुप लिएको अहिराज बताउँछन्।

मधेसी नेताहरुको पद लोलुपताका कारण मधेसको भूमि, भावना र भविष्य संकटमा परेको उनको तर्क छ। राज्यलाई थर्काएर सरकारमा पुग्ने र सरकारमा पुगेर लुट्नेबाहेक मधेस केन्द्रित दलका नेताले मधेसको हितमा कुनै काम गर्न नसकेको उनी बताउँछन्। नागरिक दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित