काठमाडौं, ३ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई प्रतिनिधिसभा सभामुखमा कसलाई उम्मेदवार बनाउने विषयमा चाँडो सहमति जुटाउन भनेका छन्।
सभामुखलगायत अन्य विषयमा छलफल गर्न बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका दाहाललाई ओलीले भने, ‘पार्टीभित्र सहमति कायम गर्ने जिम्मेवारी तपाईंकै हो।’
प्रधानमन्त्रीसँगको भेटमा कार्यकारी अध्यक्ष दाहालले अन्य विषयसँगै सभामुखको उम्मेदवारबारे पनि छलफल गर्न खोजेका थिए। तर अन्य विषयमा भएको छलफल सकारात्मक भए पनि सभामुखबारे भने कुनै निष्कर्ष निस्कन नसकेको बताइएको छ।
दुवै अध्यक्ष आफ्नो अडानबाट पछि नहट्दा बिहीबार पनि सहमति कायम हुन नसकेको स्रोतको दाबी छ। गत शनिबार बसेको सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिन निर्देशन दिएको थियो। सो निर्देशन अहिलेसम्म कार्यान्वयनमा आएको छैन।
‘बिनासहमति पार्टी चलाउन सकिँदैन। त्यसकारण पूर्वएमाले वा पूर्वमाओवादी केन्द्र भनेर अब पार्टी हाँक्नुहुँदैन। पार्टी एक भएपछि यो वा त्यो मानेमा असहमति प्रकट गर्नु ठीक छैन। त्यसकारण सरकार सञ्चालनमा समेत सहयोग पुग्नेगरी सभामुख आफूले रोजेको व्यक्ति हुनुपर्छ,’ बिहीबारको बैठकमा ओलीलाई उद्धृत गर्दै बालुवाटारनिकट स्रोतले भन्यो।
कार्यकारी अध्यक्ष भएपछि हौसिएका दाहालसहितको सहभागितामा वामदेव गौतम निवास भैंसेपाटीमा भएको अनौपचारिक छलफललाई लिएर बालुवाटार असन्तुष्ट रहँदै आएको छ। ‘उत्साहित भएर वा निराश भएर गरिएका निर्णय पार्टीमा लागु हुँदैन,’ बालुवाटार स्रोतले भन्यो, ‘त्यसका लागि त सुझबुझपूर्ण तर्क, संवैधानिक व्यवस्थाको जानकारी लिएपछि मात्र निर्णय गर्नुपर्छ।’ नागरिक दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया