बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

रामचन्द्रजीहरूसँग कुनै एजेण्डा छैन्, व्यक्तिगत स्वार्थ मात्रै छः शंकर भण्डारी (अन्तर्वार्ता)

शंकर भण्डारी २०७६ माघ २ गते ९:५६

नेपाली कांग्रेसभित्र व्यक्तिगत स्वार्थका कारण राष्ट्रिय जागरण अभियान अबरुद्ध भएको छ । पार्टीभित्र ६०–४० को भागबण्डाको फेरि जोडदार माग उठेको छ । कम्युनिस्टहरूको बलियो सरकार छ । संविधान विपरितका क्रियाकलापहरू भइरहेका छन् । यस्तो अवस्थामा कांग्रेस मिलेर जानुपर्ने बेला असन्तुष्ट नेताहरूको नेतृत्व गरेर वरिष्ठ नेता रामचन्द्र पौडेलले गुटगत भेलाहरू गर्दै आएका छन् । पौडेल समूहकै बहिस्कार र खटपटका कारण कांग्रेसले पुस महिनामा तेस्रो चरणको राष्ट्रिय जागरण अभियान चलाउन सकेन । संसद कम्युनिस्टहरूले बन्धक बनाएका छन् । यो अवस्थामा कांग्रेसको भावी योजना र विवाद समाधानको के छ उपाय भनेर नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शंकर भण्डारीसँग हाम्रा सहकर्मी विमल याेगीले गर्नुभएको कुराकानीको सम्पादित अंश :–

मिल्नुपर्ने बेला नेपाली कांग्रेसभित्र विवाद छ, गुटको भेला छ । यस्तो बेला कांग्रेसको राजनीति कता गएको छ ?

बिडम्बना नै भन्छु म । कांग्रेसभित्रको असहमति अस्वभाविक पनि हो । असहमतिले गर्दा जिल्लाका साथीहरूमा निरासा छ । कांग्रेसभित्र देखिएको असन्तुष्टिमा कुनै दम छैन । यसो गर्नु आवश्यक थिएन । सभापति शेरबहादुर देउवाजीले पनि सहि ढंगले आफ्नो भूमिका निर्वाह गर्न नसकेको अवस्था छ । सबै मिलेर जानुपर्छ भन्ने मनसाय ठीक हो । पछिल्लो समयमा देखिएका विवादमध्ये नेविसंघको विषय छ । सभापतिबाट नेविसंघमा जुन प्रस्ताव आएको छ त्यो गलत छ । यो कुरा मैले सभापति देउवाजीलाई भेटेर पनि भनिसकेको छु ।

नेविसंघको विधान हामीले स्वीकृत गरेका छौँ ३२ वर्षको उमेर हद लागू गर्‍यौँ । अहिले स्वतन्त्र विद्यार्थी युनियनको चुनाव आइरहेको छ त्रिभुवन विश्वविद्यालयले २८ वर्षभन्दा मुनिकालाई निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउने भनेर मापदण्ड बनाएको छ । कांग्रेस नेतृत्वले आफ्नै प्रस्तावमा नेविसंघमा उमेर हदको व्यवस्था गरिसकेपछि फेरि अहिले आएर त्योभन्दा विपरित अन्तरिमकाल वा अन्तरिम व्यवस्था जे जति ढंगले ब्याख्या गरेपनि उमेर हदलाई व्यवस्थापन नगर्नु पनि समस्या भयो ।

नेविसंघको पदाधिकारीहरूको बारेमा सभापतिज्यूले आफ्नो तर्फबाट तीन जना महामन्त्री प्रस्ताव गर्नुभयो । रामचन्द्र पौडेलबाट तीन जना भन्नुभयो । कृष्णप्रसाद सिटौलालाई दुई वटा महामन्त्री र विजयकुमार गच्छदारलाई एउटा महामन्त्री भनेर ९ पुर्‍याइएको छ । नेविसंघ गठन गर्ने भनेको पनि दुई महिना पुगिसक्यो । अब नेविसंघको कार्यकाल ५ महिना मात्रै बाँकी छ । यो गलत भइरहेकोा छ । हामी पनि कांग्रेसको कार्यसमितिमा छौँ । हामी सभापतिलाई साथ दिएको व्यक्ति पनि हौँ । यस्ता कुराले भविष्यमा राम्रो हुँदैन ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट कार्यतालिकाको कुरा उठिसकेपछि कार्यतालिका आयो । पार्टीको कार्यसमितिको समयावदी एक वर्ष थप्नै पर्‍यो । गल्ती नै भयो भने पनि त अर्को विकल्प छैन । थप्ने परम्परा पनि हो । समय त थप्नै पर्‍यो । त्यसमा के कति कमजोरी भयो नेतृत्वबाट अथवा नेतृत्व भन्नाले शेरबहादुर देउवा मात्रै होइन ।

पार्टी सभापतिको निश्चित रुपमा उहाँको बढी जिम्मेवारी हुन्छ नै । नेतृत्व भनेको कार्यसमिति हो । सबैको दायित्व छ पार्टीको महाधिवेशन गराउने । नेतृत्वले सहि ढंगले पार्टीलाई चलाउन सकेन भनेर बहस चलाउन सकिन्छ । असन्तुष्टिका नाममा केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार गर्ने, परामर्शका नाममा गुटको भेला राख्ने गर्नु भएन नि ।

सभापति शेरबहादुर देउवाले तोकिएको समयभित्र विभागहरू गर्न गर्न सक्नुभएन । संगठन चलायमान बनाउन सक्नुभएन । असन्तुष्ट समूहलाई मिलउन सक्नुभएन । भ्रातृ संस्था बनाउन सक्नु भएन नि ? यो कुरा त सत्य हो मान्नु हुन्छ ?

यो कुरा सत्य हो । पार्टीमा सहमति चाहिन्छ भन्ने कुरा पनि भयो । सहमति नहुँदा बैठक नै बहिस्कार गर्ने । बाहिर बाहिर भेला गर्ने । परामर्शका नाममा जिल्ला सभापतिहरूलाई बोलाएर छलफल गराउने । परामर्श भएपनि बाहिर मान्छेले हेर्दा र सुन्दा त चिन्ताको परिस्थिति आयो । असन्तुष्ट समूहलाई सहमति गराउन नसक्नु नेतृत्वको कमजोरी होला । सहमति हुन नदिनु पनि त कमजोरी होला नि ? सहमति सहमति भन्ने तर, सहमति हुन नदिने । बखेडा झिकिरहने काम भयो ।

सभापति शेरबहादुर देउवालाई विभाग गठन गर्न त समस्या थिएन । किन गर्नुभएन त ? अरुलाई दोष दिन त भएन नि ?

नेपाली कांग्रेसमा हामीले बनाएको विधानअनुसार पार्टीको विभाग गठन गर्दा महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र निर्वाचित नेतृत्वले विभागहरूको पूर्णता दिइसक्नुपर्नेछ भन्ने कुरा उल्लेख छ । विधानअनुसार काम भएन भन्ने विषयमा धेरै कुरा गर्नुपरेन । त्यसका पछाडिका कारण के छन् ? किन त्यस्तो गर्नुप¥यो ? किन विभाग गर्न हुन सकेन भन्ने कुरामा बसह गर्ने ठाउँ त होला ! तर, पनि कुरा सत्य के हो भने विधानअनुसार काम हुन नसकेकै हो । हामीले महासमितिको बैठक सम्पन्न ग¥यौँ । महामन्त्री पूर्णबहादुर खड्काज्यूको संयोजकत्वमा विधान मस्यौदा समिति बनायौँ ।

विधानमा मस्यौदा समितिले व्यापक प्रदेशस्तरीय र जिल्ला तथा कतिपय ठाउँमा पुगेर विधानको मस्यौदामा छलफल गरायौँ । महासमितिको बैठकबाट विधान पास गरायौँ । विभागकै कुरा गर्दा त्यहाँ २८ वटा विभाग भनियो । त्यतिखेर बिचार पु¥याउनु पर्ने थियो । अहिले विभाग बढाउने आवश्यक्ता थियो भने त्यस बेला नै किन यो विषयमा नसोँचेको ? पहिल त ४२ वटा विभागहरू थिए । ४२ वटाबाट झारेर २८ वटा बनाइएको हो अहिले । फेरि अहिले बढाउनु पर्‍यो । यहाँ कमजोरी देखियो । कमजोरी त स्वीकार गर्नुप¥यो नी । कमजोरीलाई ढाकछोप गर्दा त्यसले क्षति पु¥याउँछ । गलत कुरा गलत नै हुन्छ ।

अब कांग्रेसमा यस्तो समस्या रहेछ । रामचन्द्र पौडेल समूहले गुटको भेला गर्नुभयो । कांग्रेस कसरी अगाडि बढ्छ ?

उहाँहरूले परामर्श बैठक भन्नुभएको छ । आफूलाई सच्याने प्रयास गर्नुभयो । उदेश्य गुटकै भेला हो । जिल्लाका सभापतिहरूसँग मेरो कुनै गुनासो छैन । सभापतिहरूले केन्द्रको विवाद थाहा पाउनुभएको छ । कम्युनिस्टहरूको हर्कत उहाँहरूलाई थाहा छ ।

राज्यको सम्पूर्ण क्षेत्रमा कम्युनिस्टको कब्जाको अवस्थामा छ । बाह्य शक्तिको खेल त्यत्तिकै छ । जिल्ला सभापतिहरूलाई नेतृत्व लिएर काम गर्न धेरै समस्या छ । लुकाउनुपर्ने कुार छैन । परामर्श बैठक भने पनि त्यो भेला नै हो । मकसद के हो भने आफूलाई बलियो बनाउनको लागि र पार्टीमा बार्गेनिङ गर्नको लागि गरिएका गतिविधि हुन् । सभापतिहरूले पनि मिलेर जानुपर्छ भन्नुभएको छ ।

त्यो राम्रो कुरा आएको छ । रामचन्द्र पौडेल समूहले गरेका यी सबै कुरा गलत छन् । यो कार्य गर्नु आवश्यक्ता थिएन । केन्द्रीय कार्यसमिति भन्नाले हामी सबै हो । दुईवटा कांग्रेस पार्टी मिलेपछि त्यस बेला शेरबहादुर देउवालाई वरिष्ठ नेताको अभ्यास गरियो । अहिले रामचन्द्रजीलाई भनिएको छ । यो विषय पार्टीको विधानअनुसार भएको व्यवस्था होइन । वरिष्ठ नेता भनेको पार्टीमा सर्वस्वीकार्य सम्मान मात्रै हो ।

कांग्रेसले आफूलाई लोकतान्त्रिक पार्टी भन्छ । यसअघि कांग्रेसभित्र बहिस्कार गर्ने भन्ने कुरा सुनिएको थिएन । असहमतिका कुरालाई बैठकभित्रै बसेर राख्ने र असहमति जनाउने परम्परा थियो । यस पटक त बहिस्कार नै भयो । यसलाई कसरी बुझ्ने ?

यो कुरा कुनै पनि अवस्थामा राम्रो हुँदै होइन । आज कसको सम्मानको कुरा हो । कसलाई सम्मान चाहियो ? सम्मान जसले निष्ठानपूर्वक पार्टीमा निरन्तर समय दिएर आफ्नो व्यक्तिगत स्वार्थ नहेरिकन काम गर्नुभएको छ । पार्टीमा ईमान्दारिताका साथ काम गर्ने देशभरिका हजारौँ साथीहरूलाई सम्मान चाहिएको छ । सभापति, वरिष्ठ नेता, शंकर भण्डारीलाई सम्मान चाहिने कुरामा झगडा गर्न मिल्छ ? अनावश्यक बहस गर्न मिल्छ ? तिक्तता सिर्जना गर्न मिल्छ ? सम्मान चाहिएको छ भने निष्ठाका साथ लगानी गरेका साथीहरूलाई सम्मान चाहिएको छ ।

पार्टीभित्र जसको उचित राजनीतिक व्यवस्थापन भएको छैन, उचित मूल्यांकन भएको छैन, उचित न्याय र उचित व्यवहार हामीले गरेका छैनौँ ती साथीहरूको सम्मानको बारेमा बहस र विवदा गरौँ । केही व्यक्तिको वपौती हो कांग्रेस ? केही व्यक्तिका पात्रलाई कुन ठाउँमा राख्ने ? कति मान्छे बनाउने भन्ने नाममा झगडा गर्न पाइन्छ कांग्रेसमा ? यो कांग्रेस त्यसै बनेको छ ? हिजोका दिनमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल पनि कांग्रेसको कार्यकर्ता हुन् । आज उहाँहरू नेता हुनुभएको छ । हामीले ईमान्दार भएर कहिल्यै समीक्षा गर्‍यौँ ? पार्टीमा हामीले कति पयौँ र पार्टीमा हामीले कति लगानी गर्‍यौँ भन्नेमा हाम्रो समीक्षा छ ? हामी युवा भनौदाहरूले केन्द्रीय सदस्य, मन्त्री, सांसद भएका छौँ ।

हामीले पार्टीलाई कति योगदान ग¥यौँ त ? के भूमिका खेल्यौँ ? हामीले आत्मसमीक्षा गरेका छौँ ? हामी को–कोसँग जोडिएका छौँ ? म भन्ने हिम्मत गर्न सक्छौँ । जनतालाई साक्षी राखेर मातृभूमिलाई शीरमा राखेर हामी विशुद्ध छौँ । हामी निष्ठापूर्वक पार्टीमा लागेका छौँ । कसैसँग लेनदेन छैन, हामी स्वार्थ (विदेशी शक्ति) जोडिएका छैनौँ भन्न सक्छौँ ? विदेशी तत्वले नेपालको राजनीतिमा हस्तक्षेपकारी भूमिका गरेर नेपालको अस्तित्वमाथि खेल्न खोजेको छ ती शक्तिसँग हामी नजोडिइकन तिनको, कुनै प्रभावमा नपरेर पार्टीको निष्ठा आदर्शप्रति कटिबद्ध भएर काम गरेका छौँ भनेर भने भन्ने ल्याकत छ अहिलेका युवाहरूमा ? छैन ।

तपाईहरू पनि एकजना नेताको पछाडि लाग्नुभएको छ । गुटलाई संरक्षण गर्नुभएको छ नि ?

पार्टीको आन्तरिक चुनावको प्रतिस्पर्धामा जाँदा एउटा समूह बन्यो । त्यो समूहमा मपनि जोडिए । मैले कुरा लुकाएको छैन । म शेरबहादुर देउवा समूहमा जोडिएर म १२औँ र १३औँ महाधिवेशनबाट म केन्द्रीय सदस्य भएँ । यद्यपि शेरबहादुर देउवाकै मान्छेहरूले पनि शंकर भण्डारीलाई असहयोग गरेको मसँग प्रमाण छ । शेरबहादुर देउवाको विपक्षमा रहेका साथीहरूले पनि मलाई साथ दिएको अवस्था छ । नैतिक रुपमा म आफूलाई के ठान्छु भने समूहमा जोडिएकै हो । समूहमा जोडिएका कारणले यो महाधिवेशनको कार्यअवधिमा समूहमा बसेर केही विशेक छलफल, मन्थन, कुरा त्यहिँभित्र गर्नुपर्छ भन्ने मेरो दृष्टीकोण हो ।

नेपाली कांग्रेसको विधानहरू केन्द्रीय कार्यसमितिमा बहुमतबाट निलम्बन गरिएको छ । रामचन्द्र पौडेल समूहले त्यो निर्णय खारेजीको माग गरेका छन् । त्यो सम्भव छ ?

त्यसको बारेमा चाहिँ कुरा के छ भने, सहमतिमा गरेको भए हुन्थ्यो भन्ने पक्षमा म पनि छु । मैले पनि सहमतिमा निर्णय गर्नुपर्छ भनेको थिएँ । यस्ता केही विषयहरू चाहिँ, हामीहरूलाई समेत थाहा नदिएर प्रस्ताव आयो । आवश्यक थियो भने अधिवेशनको कुरा हो । नेतृत्व त स्वच्छ प्रतिस्पर्धाबाट आउनुपर्छ । छलछाम आफैभित्र किन गर्ने ? जालझेल आफैभित्र किन गर्ने ? यो त पार्टीको नेतृत्व चयन गर्ने कुरा हो । यो कुनै आमनिर्वाचन पनि होइन । लोकतान्त्रिक प्रक्रियामा आमनिर्वाचन पनि निष्पक्ष हुनुपर्छ । निस्कलंक हुनुपर्छ । त्यसले प्रजातन्त्रिक मूल्य र मान्यताको मर्यादा कायम गर्छ । यो विषयमा केही बहस हुन सक्छ । यसलाई अन्यथा मान्दिन । असन्तुष्ट समूहले यो कुरा असल नियतले उठाएको भन्ने कुरामा आशंका छ । असन्तुष्ट समूहलाई ढुक्कसँग विश्वास गर्ने आधार पनि छैन ।

असन्तुष्ट समूहले आफनो स्वार्थका लागि कुरा कुरा उठाउनु भएको हो ?

पार्टी बनाउने विषयमा उहाँ(पौडेल समूह)हरूसँग कुन तर्क छ त ? पार्टीलाई मजबुत बनाउन, पार्टीलाई संस्थागत बनाउन, पार्टीलाई मर्यादित र सिङ्गो रुपमा अगाडि बढाउने कुरामा उहाँहरूसँग के तर्क छ ? कुनै तर्क छैन ।

पौडेल समूहले ६०–४० को कुरा गरेर आफ्नो नेता तथा कार्यकर्ताहरूलाई संरक्षण गर्ने भन्नु भएको छ त ?

को कार्यकर्ता ? के कार्यकर्ता ? चाहे शेरबहादुरजी होस् । चाहे रामचन्द्रजी होस् । अरु को–को हुन् । कति जना कार्यर्ता ? कांग्रेसमा कति जना मान्छेले बनाएको पार्टी हो यो ? कति जना मान्छे यसमा आवद्ध छन्, संलग्न छन् ? कसले कांग्रेस बनाएको छ । को हो आफ्नो मान्छे भनेको ?

कांग्रेसभित्रको यो अवस्थाले बलियो कम्युनिस्टसँग तपाईहरू कसरी प्रतिस्पर्धा गर्नु हुन्छ ?

त्यही त भनेको । जो विषयमा हामीले बहस गर्नुपर्ने थियो । मन्थन गर्नुपर्ने थियो । गृहकार्य गर्नुपर्ने थियो । मेहनत गर्नुपर्ने थियो । त्यहाँ चाहिँ हामीले केही पनि गरेका छैनौँ । नेपालको राजनीतिमा नेपालको कम्युनिस्ट भन्ने समूहरूले, पार्टीहरूले ०७ सालको परिवर्तनदेखि आजको दिनमा आएर संविधानसभा र संविधान बनाउँदै आम निर्वाचन सम्पन्न गर्ने अवधिसम्म कुन भूमिकाको नेतृत्व गर्ने काम गरे ? कम्युनिस्टले गरे भन्दाखेरी नेपालको कम्युनिस्टको नाममा धेरै पटक, धेरै प्रकारका द्वन्द्वहरू भए । कलहहरू भए । घात प्रतिघातको राजनीति भए ।

०१५ सालको जननिर्वाचित सरकार राजाले अपदस्थ गर्दा कम्युनिस्टहरूले दीपावली नै मनाए । यसको प्रमाण छ । ०३६ सालको जनमत संग्रहमा कतिपय कम्युनिस्टले पञ्चायतको पक्षमा मतदान गरेका छन् । तथ्य छ । प्रमाण छ । कथित माओवादीका नाममा कांग्रेसहरू काटिन थाले । त्यस बेला तत्कालीन नेकपा(एमाले)ले सहयोग गर्‍यो । प्रमाण छ । तथ्य छ । यस्ता धेरै कुरा छन् ।

माओवादीलाई शान्ति प्रकृयामा ल्याउने भूमिका गर्दैगर्दा तत्कालीन एमालेका असन्तुष्ट समूहका माधवकुमार नेपाल अभिव्यक्तिहरू, त्यहाँका केही दस्तावेज हेरे थाहा हुन्छ । कम्युनिस्टहरूको असली स्वरुप कसैलाई थाहा छैन । कहिले माले, कहिले मसाले, कहिले माओवादी, कहिले मण्डले, एमाले, नेकपा यिनको विभिन्न स्वरुप छन् । बुझ्न गाह्रो छ ।

कम्युनिस्टको बलियो सरकार छ । संविधान विपरित विधेयकहरू संसदमा पेश भएका छन् । धमाधम कानूनहरू बनेका छन् । यसरी त कांग्रेसले लोकतन्त्र र संविधानका रक्षा कसरी गर्छ ?

कम्युनिस्टले कांग्रेसविरुद्ध राज्यप्रशान प्रयोग गरेको धेरै तथ्य बाहिर आएका छन् । हाम्रा साथीहरूलाई अनावश्यक झुठ्ठा मुद्धा लगाउने । फसाउने । जेल हाल्ने । हिरासतमा राख्ने । यातना दिने काम त भइरहेका छन् । कांग्रेसका विरुद्धमा भएका गतिविधिमा हामी सचेत हुनुपर्छ । विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई अतिक्रमण गर्ने काम भइरहेको छ ।

संस्थागत रुपमा भ्रष्टाचार भइरहेका छन् । लाख करोडमा होइन अर्ब, खर्बमा भ्रष्टाचार भएका छन् । मूल्यवृद्धि भएको छ । न्यायालय, प्रशासन, सुरक्षा निकाय हरेक ठाउँमा कम्युनिस्ट सरकारको हस्तक्षेप छ । दुई छिमेकी मुलुकवीच भएको असमझदारीमा बहस गर्न सकेका छैन हामीले ।

यी कुरा त संसदमा उठाउने होइन र ? यस्तो अवस्था हुँदा पनि संसद चल्न सकेको छैन । कांग्रेस के हेरेर बसेको छ ?

कम्युनिस्टहरूका कारणले जननिर्वाचित सार्वभौम सम्पन्न संसद डेढलकको अवस्थामा छ । अनिर्णयको बन्दी भएर संसद बसेको छ । एक महिनादेखि संसद चल्न सकेको छैन । उपसभामुख त हुँदै हुनुहुन्छ । उहाँमार्फत संसद चलाउँदै देशको जल्दाबल्दा कुरा गर्नुपर्ने थियो नि । त्यो पनि गरिएको छैन । उहाँहरूको पार्टीभित्रको आन्तरिक समस्या होला । एकछिनलाई मानौँन सकारात्मक रुपमा ।

उपसभामुखलाई त हुनुहुन्छ नि । उहाँमार्फत संसद चल्न सक्दैन ? सक्छ । उपसभामुख भनेकै सभामुख नहुँदा संसद चलाउने भनेर बनाइएको र सिर्जना गरिएको भूमिका हो । उनको पार्टीको आन्तरिक कारणले आन्तरिक द्वन्द्व, कलह बेमेलको कारणले सिंगो जननिर्वाचित सार्वभौमसत्ता सम्पन्न संसद अबरुद्ध भइरहेको छ । यसले मुलुकलाई कहाँ लैजाँदै छ भन्ने कुरा गम्भीर विषय छ ।

यो विषयमा कांग्रेसले आन्तरिक विवादका कारण राम्रोसँग बहस गर्न पनि कसेको छैन । कांग्रेसमा के देखियो नियत भने, कांग्रेसमा अनावश्यक किचलो सिर्जना गरेर त्यसमा कोही पनि शुद्ध छैनन् । सभापति शुद्ध छ भनेर म दावा गर्न सक्दैन । तर, यो कलह किचलो गरेर बैठक बहिस्कार गरिरहनु पनि त्यसमा पनि जिम्मेवारी छैन भन्ने हुँदै होइन ।

पूर्णरुपमा किचलो गर्ने पौडेल समूह पनि दोषी छन् कुरालाई स्ष्ट पार्दै अब हामीले हिजो कांग्रेसले वीपी कोइरालाको नेतृत्वमा नेपालको राजनीतिमा प्रधान भूमिका खेल्ने अवस्था बनाएको थियो, त्यो परिस्थितिलाई मनन गरौँ । ०३३ सालमा वीपीले राष्ट्रिय मेलमिलापको नीति ल्याउनको अर्थ के हो ? त्यस बेला शुरुमा वीपीले गलत गर्नुभयो भनेर गणेशमानजीहरूले विरोध गर्नुभएको थियो ।

पछि उहाँहरूले स्वीकार गर्नुभयो । वीपीलाई सम्मान गर्दै साथ दिनुभयो । आज हामी कहाँ छौँ ? आज हामी कुन राष्ट्रिय धरातलमा उभिएका छौँ ? यो विषयमा हामीले गम्भीर भएर सोँच्नुपर्छ ।

पार्टीभित्रको विवाद कसरी समाधान गर्ने ? कांग्रेसको राष्ट्रिय जागरण अभियान कता पुग्यो ?

यसको विवाद समाधान भनेको १४औँ महाधिवेशनमा देशभरिका साथीहरूले न्याय गर्नेछन् । दुई वटा अतिवादी शैलीका सोँचको विपरित हामी लाग्नुपर्छ । म पनि त्यसका विरुद्ध छु । अरु साथीहरू पनि हुनुहुन्छ । १४औँ महाधिवशेनमा साथीहरूसँग बहस गर्छौं । १४औँ महाधिवेशनबाट समस्याको समाधान हुन्छ । यसको अर्को उपाय छैन । यिनीहरू कोही पनि जाने कुनै पनि ठाउँ छैन । यी सबै घुर्की, फुर्की, धम्की मात्रै हुन् । यसमा कुनै तुक नै छैन । यो अनुशासनहीन प्रवृत्ति छ ।

राष्ट्रिय जारण अभियानमा व्यापक तयारीका साथ जान त सकिएन । पहिलो र दोस्रो चरणमा उत्साहसहित जागरण अभियान सम्पन्न भयो । तैपनि कार्यकर्तामा उत्साह ल्याएको छ । केही नकेही पार्टीलाई सकारात्मक उर्जा दिएको छ । तेस्रो चरणको जारण अभियान पुसमा गर्ने भन्ने थियो । पुस महिना नै सक्कियो । पार्टीमा केही सकारात्मक गतिविधि गर्नै नदिने प्रवृत्ति छ ।

पार्टीमा यो प्रवृत्ति हाबी भएको छ । यसका पात्र त हामी आफै भयौँ । छायाँमा कुन शक्ति छ भन्ने कुरा खोज्नुपर्छ । मलाई थाहा छ । तर मैले बोल्न मिल्दैन । बाहिरबाट हेर्दा मूलपात्र त हामी नै हौँ पार्टीमा सकारात्मक काम गर्न नदिने । गाउँगाउँमा कांग्रेसको राष्ट्रिय जागरण अभियानमार्फत पार्टीको विचार पुगेको थियो । सरकारका गलत कुराहरू भ्रष्टाचार, महँगीलगायतका कुरामा हामी तथ्यगत प्रमाणसहित जान सकेनौँ । गाउँ तहमा जागरण अभियान लिएर जानुपर्छ भन्ने थियो । आन्तरिक विवादले जान सकिएन । रोकियो ।

१४औँ महाधिवेशनमा तपाई कुन गुटबाट कुन पदमा उम्मेदवार बन्ने योजनामा हुनुहुन्छ ?

मलाई गुटबाट कुन पदमा उठ्ने भन्दा पनि यो कांग्रेस पार्टीलाई कसरी पुनःजीवित गर्ने भन्नेछ । कांग्रेसले बाह्य शक्तिको बढ्दो प्रभावलाई न्यूनीकरण गर्दै समृद्ध नेपाल लोकतान्त्रिक पद्धतिको माध्यमबाट बनाउने भन्ने कुराको मेरो चिन्तन छ । म कांग्रेसको सामान्य कार्यकर्ता हो । नेपालको पहिचान, नेपालको अस्तित्वसँग जोडिएका मूलभुत विषयहरू पनि छन् । त्यो भनेका सनातन हिन्दू संस्कृति हो ।

बुद्धत्व हो हाम्रो । यो कुरालाई कांग्रेसले आत्मसात गर्नुपर्छ । विश्वका कतिपय देशहरू स्लाम देश भएर धर्मका नाममा स्थिापित छन् । परिभाषित छन् । ईसाइ मुलुकहरू छन् । कांग्रेस पार्टी ०३ सालमा स्थापना भएको हो । नेपालको आकार हुनुभन्दा पहिलादेखि रहेको भू–भागहरू हिन्दूत्व थियो । सनातन संस्कृति थियो, सभ्यता थियो । त्यो हाम्रो गौरवमय ईतिहाँस हो ।

त्यो हाम्रो पहिचान हो । त्यसलाई जोगाउने नीति कांग्रेसले बोक्नुपर्छ भन्ने मेरो बिचार छ । त्यो विचारमा आबद्ध पार्टीमा धेरै साथीहरू हुनुहुन्छ । यो विचारलाई जुन नेतृत्वले आत्मसात गर्छ त्योसँग हाम्रो सहकार्य हुन्छ । नभए छुट्टै बिचार बोकेर पार्टीमा बहस हुन्छ । १४औँ महाधिवेशनमा सहभागी हुन्छौँ ।

प्रतिक्रिया
सम्बन्धित